धनगढी- कैलाली जिल्ला प्रहरी कार्यालयमा साउन २१ गते एउटा जाहेरी पर्यो, दर्ता नम्बर ५६ मा। त्यो जाहेरी थियो करणीको। ‘श्रीमान्ले मलाई जबरजस्ती करणी गरे’ भनेर जाहेरी दिने एक समलिङ्गी महिला थिइन्।
सो सम्बन्धमा शुक्रबार डडेल्धुरा बस्ने समलिङ्गी महिला अनिशा ठकुरी (नाम परिवर्तन) ले धनगढीमा पत्रकार सम्मेलन गरेरै जानकारी दिइन्। ‘हाम्रो विवाह भएको अढाई वर्ष भयो। एक वर्षसम्म हाम्रो सम्बन्ध राम्रै थियो। त्यसयता श्रीमान्ले मेरो इच्छाविपरीत शारीरिक सम्पर्क गर्ने, कुटपिट गर्नेलगायतका गतिविधि गर्न थाले,’ उनले आफूले भोगेको पीडाबारे बताउन सुरु गरिन्। उनले श्रीमान् लागुपदार्थ सेवनमा फसेपछि आफूमाथि यस्तो क्रियाकलाप हुन लागेको खुलाइन्।
‘दुई/तीन पटक श्रीमान्ले यस्तो गतिविधि गर्दा कहिँ गुहार मागिनँ। तर, पछि सहनै नसक्ने अवस्था आएपछि बाध्य भएर प्रहरीमा उजुरी दिएकी हुँ,’ उनले थपिन्।
जबरजस्ती करणी समलिङ्गीलाई हुन नसक्ने भन्दै सुरुमा प्रहरीले समेत उजुरी दर्ता गर्न नमानेको उनको भनाइ छ। ‘हाम्रो समाजमा जबरजस्ती करणी भन्ने बित्तिकै महिलामाथि मात्र हुन्छ भन्ने मानसिकता छ,’ उनले उजुरी दर्ता गराउन जाँदाको क्षणलाई सम्झिँदै भनिन्, ‘जिल्ला प्रहरी कार्यालयमा जाँदा प्रहरीले नै प्रतिक्रिया दियो कि महिलामाथि जबरजस्ती करणी हुनसक्छ तर समलिङ्गीलाई हुन सक्दैन। पहिलो पटकमा जाहेरी नै लिएनन्। पछि प्रमुख जिल्ला अधिकारीसमक्ष कुरा पुगेपछि जाहेरी दर्ता भयो।’
उनले प्रहरीलाई प्रमाणहरु समेत बुझाएको बताइन्।
कैलाली प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले समलिङ्गी महिलाले आफ्नो श्रीमान्विरुद्ध जबरजस्ती करणीको जाहेरी दिएको र त्यसको अनुसन्धान भइरहेको पुष्टि गरे। प्रवक्ता बस्नेतले उनको श्रीमान्को खोजी कार्य भइरहेको बताए।
‘उजुरी परेको समयदेखि नै उहाँको श्रीमानको खोजी कार्य भइरहेको छ। नेपालभन्दा बाहिर गएको आशंका गरिएको छ,’ प्रहरी प्रवक्ता बस्नेतले भने।
यस्तै, ठकुरीले कैलाली जिल्ला अदालतमा साउन २८ गते अंशबण्डा मुद्दासमेत दर्ता गराएकी थिइन्। उनले भनिन्, ‘सरकारले छोरीले अंश पाउने व्यवस्था गर्यो तर, हामी समलिङ्गी व्यक्तिहरुले अंश पाउने व्यवस्था गर्न सकेको छैन।’ उनले आफ्ना सासु, ससुरा र श्रीमान्विरुद्ध अंशसम्बन्धी जाहेरी दर्ता गराएको बताइन्।
नेपालको संविधानले समलिङ्गी तथा तेस्रो लिङ्गीलाई नागरिकता र पासपोर्टमा लिङ्गमा 'अन्य' उल्लेख गरेर प्रदान गर्ने तथा विवाह गर्न पाउने अधिकारको व्यवस्था गरेको छ।
उनले भनिन्, ‘समलिङ्गी व्यक्तिहरु पनि जaरजस्ती करणीमा पर्छन् र राज्यले त्यससम्बन्धी कानुनी व्यवस्था गर्नुपर्छ भने समलिङ्गी व्यक्तिहरुलाई पनि अंश दिने व्यवस्था पनि अनिवार्य गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।