सुनको मूल्यमा नयाँ रेकर्ड कायम भइरहेको छ। भदौ ७ सम्म सुनको कारोबार प्रतितोलाको ७१ हजार ५ सय रुपैयाँ कायम हुँदा नयाँ रेकर्ड कायम भएको थियो। किन सुनको मूल्य बढ्दो छ? के अब सुनको मूल्य निरन्तर बढिरहने हो? घट्ने सम्भावना कति छ? नेपाल लाइभको कार्यक्रम समय संवादमा पुष्पा केसीले नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यसँग यस्तै प्रश्नको जवाफ खोज्ने प्रयत्न गरेकी छिन्।
अहिले सुनको मुल्यमा वृद्धि आउनुको कारण के हो?
नेपालीको क्रयशक्तिभन्दा बढी सुनको मूल्यमा वृद्धि हुँदा अहिले सुन किन्ने भन्दा सुन बिक्री गर्ने मानिसहरुको पसलमा भीड लाग्ने गरेको छ। यसअघि तीजको समयमा दैनिक ३५ देखि ४० किलोसम्म सुन बिक्री हुने गरेकोमा अहिले दैनिक १० किलोसम्म पनि सुन बिक्री हुन सकेको छैन। किन्ने भन्दा बिक्री गर्नेहरुको चाप भएकाले यसले समस्या निम्त्याउँछ।
विदेशमा गोल्ड एक्सेन्च गर्ने छुट्टै संस्था हुने भएकाले सुन किन्ने बेच्ने काम उसले गरिरहेको हुन्छ। अहिलेको समस्या समाधानमा मात्रै होइन सुन व्यवसायलाई नै व्यवस्थित बनाउन सरकारले यस्तो व्यवस्था ल्याउन आवश्यक देखिएको छ।
सुनको किनबेचमा भएको नाफामा पुँजीगत लाभकर लगाउने विषय अहिलेसम्म बहसमा आएको देखिदैन। यदि सरकारले गोल्ड एक्सचेन्जको प्रावधान ल्यायो भने यो सम्भव छ। अहिले जति पनि सुनको कारोबार भइरहेको छ, त्यसमा लाभकर छैन। त्यसले राज्यलाई होइन, व्यक्तिलाई मात्र फाइदा भइरहेको छ।
कसका कारण सुनको मुल्य बढिरहेको हो?
सुनको मूल्य बढ्नुमा अमेरिका र चीनबीचको व्यापारिक युद्ध मात्र होइन, विश्व अर्थतन्त्रमा आउन सक्ने आर्थिक मन्दीको जसरी चर्चा भइरहेको छ, त्यसलाई परिपूर्ति गर्न विकसित देशका केन्द्रीय बैंकहरुले सुनको सञ्चयलाई बढाउँदै लगेका छन्। रुस, चीन, जर्मनी, स्वीजरल्याण्डलगायत विकसित देशका केन्द्रीय बैंकले सुनको सञ्चयलाई बढाउँदै लग्नुको मुख्य उद्देश्य नै भविष्यमा आउने आर्थिक मन्दीबाट जोगिनु हो। हजारौं टन सुन उनीहरुले सञ्चय गरेपछि त्यसले पनि सुनको मूल्य बढिरहेको हो।
अहिले सबै देशमा डलर चलाउने प्रचलन छ। कतिपय देशले त्यसबाट छुटकारा खोजिरहेका छन्। रुस, चीन, इरानलगायत देशले डलरमा रहेको निर्भरता कम गर्दै आफ्नो छुट्टै आर्थिक व्यवस्था गर्न खोजिरहेका छन्। सुन विश्व अर्थतन्त्रसँगै विश्व राजनीतिसँग पनि जोडिएको विषय हो। विकशीत देशबीचको टसलले पनि सुनमा प्रभाव पारिरहेको छ। निकट भविष्यमा पनि सुनको मूल्य घट्ने सम्भावना मैले देखेको छैन।
सुन किन्दा ज्याला, जर्ती भनेर विभिन्न शीर्षकमा पैसा तिर्नुपर्छ। रसायन पनि जाँच गरिन्छ। तर, उपभोक्ताले त्यही रकम कटाएर मात्रै सुन बेच्न पाउँछन्। यसबारे धेरै उपभोक्तालाई जानकारी छैन।
काँचो ढिका सुन बिक्री गर्दा ज्याला, जर्ती केही पनि तिर्नु पर्दैन। तर, त्यही ढिका सुनबाट कुनै गहना बनाउँनु पर्यो भने विभिन्न चरण पार गर्दै गहना बन्छ। तयार गर्ने चरणमा विभिन्न कालिगढको हातमा जाँदा सुनको वजनमा ह्रास आएको हुन्छ, त्यसलाई जर्ती भनिन्छ।
अर्को ज्याला। अहिले बनाउँने गहनामा जर्ती र ज्यालाको मात्रै रकम तिरे पुग्छ। रसायनको पैसा तिर्नुपर्दैन। तर, बिक्री गर्न आउँदा पुराना गहनालाई नयाँ डिजाइनमा बनाउँनु पर्यो भने 'मेड इन्चार्ज'को रुपमा २ प्रतिशत कटाएर बजारमा चलाइएको छ।
सुन पसलमा काम गर्ने कालिगढको जीविका गहना बनाएकै आधारमा चलिरहेको हुन्छ। त्यसकारण केही निश्चित रकम परिपूर्ति गर्न एक पटक गहना बनाएर गाल्यो भने १४ देखि १५ प्रतिशतसम्म घाटा हुन्छ।
कम घाटा हुने गहना पनि हुन्छन्। जति धेरै फेन्सी डिजाइनको गहना भयो त्यति धेरै घाटा हुन्छ। बेरुवा औंठी, प्लेन रिङलगायत जति खँदिलो डिजाइन हुन्छ, त्यति कम घाटा हुने सम्भावना रहन्छ।
विस्तृत भिडियोमाः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।