धनगढी- कैलालीको गौरीगंगा ११ मसुरीयाकी माया विकको मुद्दाको पेशी आठौं पटक सारिएको छ। गत वर्ष असार १२ गते विकको बलात्कारपछि हत्या भएको थियो। त्यसको १ महिनापछि उक्त घटनामा साउन १३ गते ५ जनाविरुद्ध कैलाली जिल्ला अदालतमा जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर भएको थियो।
उक्त मुद्दाको पेशी पटकपटक सर्दै आएको छ।
अदालतका श्रेस्तेदार भुवन गिरीले बिहीबारसम्म ४ पटक वादी र ४ पटक प्रतिवादीका कानुन व्यवसायीको आग्रहमा पेशी सारिएको बताए। यसअघिका पेशीहरूमा जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध प्रतिवादीका कानुन व्यवसायी अधिवक्ता गम्भीर सिंह ऐरले उच्च अदालत दिपालयमा वेरीतको आदेश बदर गरी पाऊँ भनी निवेदन दिएपछि मुद्दाको पेशी तीन पटक सारिएको गिरीले बताए।
बिहीबार भने प्रतिवादीकै कानुन व्यवसायी शिव सुन्दर शाहीले अस्वस्थताको कारण देखाएपछि पेशी सारिएको हो।
उच्च अदालतमा निवेदन परेपछि मिसिल दिपायल गएका कारण मिसिल अभावमा बहस पैरवी गर्न नसकिने भनी सरकारी वकिलको तर्फबाट पनि तीन पटक पेशी सरेको उनले बताए। सुरुको पेशी भने सरकारी वकिलकै तर्फबाट केही कागजातहरू नक्कल लिनको लागि सरेको उनको भनाइ छ।
मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को नियम ९६ मा जबर्जस्ती करणी, घरेलु हिंसा, जिउ मास्ने–बेच्ने लगायत ६ प्रकारका मुद्दालाई निरन्तर सुनुवाइ गरेर टुङ्ग्याउनुपर्ने व्यवस्था छ। बलात्कार र हत्यामा संलग्न भएको आरोप लागेका ५ जना अभियुक्त हाल पुर्पक्षका लागि थुनामा भए पनि अदालतले पेशी सारेर मुद्दालाई उपेक्षा गरेको भन्दै पीडित परिवार सशंकित भएको छ।
मायाका बुवा हर्कबहादुर विकले निर्मला हत्या प्रकरण जस्तै मायाको केश पनि हुने त होइन भन्ने मनमा चिन्ता रहेको बताए।
घटनापछि मायाको परिवारलाई राहत स्वरूप सुदूरपश्चिम प्रदेश सरकारले ५ लाख र गौरीगंगा नगरपालिकाले एक लाख रुपैयाँ दिने निर्णय गरे पनि न्याय नपाएको भन्दै पीडित परिवारले अझै लिन मानेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।