सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा 'मिनरल वाटर'को बोतलमा फट्यांग्रा भेटिएको छ। मध्यपश्चिम वाटर एन्ड वेभरेज इन्डष्ट्रिज प्राइभेट लिमीटेडद्वारा उत्पादित ‘एक्वास’ नामक पानीको बोतलमा फट्यांग्रा भेटिएको हो।
वीरेन्द्रनगरमा रहेको एक पसलबाट पञ्चकोशी यातायातका चालक धनबहादुर खड्काले प्रशोधित पानी पिउनका लागि किन्ने क्रममा ‘एक्वास’को पानीको बोतलभित्र फट्यांग्रा भेटेका हुन्। पानीको बोतलभित्र फट्यांग्रा मरेको देखेपछि वीरेन्द्रगर-३ निवासी खड्काले सिल नतोडिएको बोतललाई सुरक्षित राखेका थिए।
‘एक्वास’को उत्पादक मध्यपश्चिम वाटर एन्ड वेभरेज इन्डष्ट्रिज प्रालि लगायत सुर्खेतमा सञ्चालित ४ वटा पानी कम्पनीहरुमा गत बैसाखमा जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण इकाई कार्यालय सुर्खेतले संयुक्त रुपमा सिलबन्दी गरेको थियो।
नागरिकको स्वास्थ्यसँग सिधा सम्बन्ध राख्ने पानी बिक्रीवितरणका लागि वीरेन्द्रनगरमा सञ्चालनमा रहेका उद्योगहरु मापदण्ड बमोजिम सञ्चालन भएको नपाइएपछि खाद्य निरीक्षक भेषबहादुर थापासहितको अनुगमन टोलीले सिल गरेको थियो।
पानी उद्योगमा ५ फिटसम्म मार्वल लगाइएको हुनुपर्ने, पानी भर्ने प्लान्ट र गोदाम घरको फरक-फरक व्यवस्था, फुड ग्रेड गुणस्तरको स्टिल पाइपको जडान, युभी स्टेपलाइजर र ओजोन ओस्मोसिस उपकरणको जडान लगायतका मापदण्ड निर्देशिकामा उल्लेख भएता पनि वीरेन्द्रनगरमा सञ्चालनमा रहेका पानी कम्पनीहरुले मापदण्ड पूरा नगरेको पाइएको थियो।
तर, त्यसको केही समयपछि पानी कम्पनीहरु पुनः सञ्चालनमा आएका थिए। कम्पनीमा लगाइएको सिल 'तत्काल र निश्चित समयमा आवश्यक सबै मापदण्डहरु पूरा गर्ने' भन्दै सम्झौता गरी खोलिएको थियो।
सिल खोलिएको केही समयमै उनैमध्येको एक कम्पनीले उत्पादन गरेको पानीको बोतलमा फट्यांग्रा भेटिएपछि सुर्खेतमा सञ्चालनमा रहेका मिनरल वाटर कम्पनीहरुको अवस्था नसुध्रिएको देखाउँछ। यस्ता घटनाहरुमा उद्योगलाई मापदण्ड बमोजिम सञ्चालन गर्ने सम्झौतामा छाडिन्छन् तर केही समयपछि पानीको शुद्धताका बारेमा उस्तै अवस्था देखा पर्छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण इकाई कार्यालय सुर्खेतका कार्यालय प्रमुख भेषबहादुर थापाले भने, ‘फट्यांग्रासहित भएको पानीको बोतललाई हामी ल्याबमा पठाउँछौं। साथै उक्त बोतलसँगै उत्पादन भएका अन्य बोतलहरुको पनि परीक्षण गर्छौं। नागरिक स्वास्थ्यसँग खेलवाड गर्न पाइँदैन।’
कर्णाली प्रदेशमा खाद्य सुरक्षाका लागि हालसम्म पनि ल्याबको व्यवस्था भने गरिएको छैन। खाद्यलगायतका सामाग्री परिक्षणका लागि नेपालगञ्जमा रहेको कार्यालयसँग निर्भर रहनुपर्ने उनले जानकारी दिए।
नेपालगञ्जबाट ल्याबको रिर्पोट आएपछि प्रशोधित पानीको गुणस्तर न्युन भएको पाइएमा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए।
धाराबाट सोझै पानी भरेमात्र बोतलमा फट्यांग्रा भेटिने राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष आकाश तारा वयकको धारणा छ। उनले भने, ‘पानीजस्तो अमृत चिजमा हेलचक्र्याइँ गर्दै वितरण गर्दा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्याउँछ, त्यसमाथि धाराबाट सोझै पानी भरेमात्रै बोतलमा फट्यांग्रा पर्छ।’
सुर्खेतमा पानीको गुणस्तर कायम गर्नका लागि उद्योग आफैंले स्थापना गर्नुपर्ने ल्याबको व्यवस्था पनि उद्योगहरुले नगरेको उनको भनाइ छ।
मध्यपश्चिम वाटर एन्ड वेभरेज इन्डष्ट्रिज प्रालिका सञ्चालक कृष्ण आचार्यले मेसिनबाट प्रशोधन गरिएको पानी तथा सिल गरिएको बोतलमा फट्यांग्रा भेटिएको सूचना नै गलत भएको दाबी गरे। उनले भने, ‘मेसिनबाट प्रशोधित पानीमा फट्यांग्रा भेटिएको भन्नु गलत हो। र, बोतलमा फट्यांग्रा भएको हामीले पनि जानकारी पाएका थियौँ। तर, हामीसँग नै आर्थिक बार्गेनिङ गरियो।’
कम्पनीद्वारा उत्पादित 'एक्वास' पानीको शुद्धतामा आफु विश्वस्त रहेको उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।