काठमाडौं- कर्णाली प्रदेशका दशै जिल्लाका प्रमुख पर्यटकीय स्थललाई समावेश गरेर फोटो किताब प्रकाशन भएको छ। भरतबन्धु थापाको लेखन तथा तस्बिर समावेश गरेर इकोनोमिक रिर्फम मिडिया प्रालिको संयोजनमा भू-तथा जलधार व्यवस्थापन कार्यालय, कर्णाली प्रदेश सुर्खेतले 'गन्तव्य कर्णाली फोटो किताब' प्रकाशन गरेका हो।
अथाहा सम्भावना बोकेको कर्णालीलाई यती सानो किताबमा समेट्न नसकिए पनि केही जानकारी तथा कर्णालीको विषयमा प्रचारप्रसार होस् भन्ने हेतुले फोटो किताब प्रकाशन गरिएको लेखक थापाले बताए।
थापाले यसअघि पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गर्ने हेतुले विभिन्न संघसस्थासँग मिलेर दैलेख, सुर्खेत, धनगढी, बाँके, काठमाण्डौ लगायतमा पश्चिम नेपालका पर्यटकीय स्थलहरुलको तस्बिर प्रर्दशनी गरेका थिए।
गन्तव्य कर्णाली फोटो किताबमा आन्तरिक पर्यटकको अत्यधिक रुचि भएको रारादेखि नेपालकै सबैभन्दा उच्च स्थानमा रहेको मानव बस्ती डोल्पाको द्यो, ज्वालाहरूको क्षेत्र दैलेख, नेपाली भाषामा लेखिएको पहिलो अभिलेख दामुपालको अभिलेख लगायतका तस्बिर समावेश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।