जनकपुर- जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार एक अभियुक्तसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत बिहीबार बयान लिने क्रममा अपराध अनुसन्धान शाखाबाट फरार भएका राममणि यादव र अन्य ४ विद्यार्थीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
फरार भएको ६ दिनपछि प्रहरीले मंगलबार राति ९ः३० बजे सिरहा माडरको भारतीय सीमाबाट यादव र अन्य ४ जनालाई पक्राउ गरिएको डिएसपी रामेश्वर कार्कीले बताए।
पक्राउ पर्ने विद्यार्थीमा सिरहा औरहीका प्रमेश यादव, ठैगहीका सुर्यनारायण यादव, बसपिट्टाका राजकुमार यादव र अर्नमाका रामप्रकाश यादव छन्। यी चारै जना जनकपुरस्थित एक कलेजमा ओभरसियर अध्ययनरत विद्यार्थी हुन्।
पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रहरीको हिरासतबाटै यादव फारर भएपछि अपराध अनुसन्धान शाखाका असई राजकुमार भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले निलम्बित गरेको छ भने डिएसपी कार्कीको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली नै गठन गरेर फरार अभियुक्तको खोजी तीव्र पारिएको थियो।
जनकपुरधाम उपमहानगरपालिका-८, बलवा टोलमा डेरा लिई बस्दै गरेका सिरहाका २० वर्षीय राममणि यादवलाई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।