सुर्खेत- कलिकोटको पचालझरना गाउँपालिकाले गत आर्थिक वर्षमा स्कार्पियो गाडी किन्न ३५ लाख रुपैयाँ छुट्याएको थियो। तर, गाउँपालिकाले सो रकमले स्कार्पियोको सट्टा एम्बुलेन्स खरिद गरेको छ।
जिल्लामा भएको एउटा एम्बुलेन्स पनि हाल बिग्रेको अवस्थामा छ। जिल्लामा अन्य कुनै पनि गाउँपालिकामा एम्बुलेन्स छैेनन्। गाउँमा स्थानीय बिरामी हुँदा सार्वजनिक गाडी र डोकोकै भर पर्नुपर्थ्यो।
जनताको सुविधाको लागि आफू गाडी नचढेरै भए पनि एम्बुलेन्स किनेको गाउँपालिकाका अध्यक्ष खड्क सेजुवालले बताए। ‘बिरामीका लागि एम्बुलेन्स नहुँदा समस्या परेको थियो। त्यसैलाई मध्यनजर गरी एम्बुलेन्स खरिद गरेका हौं,’ अध्यक्ष सेजुवालले भने, 'हामी जनप्रतिनीधिका लागि ५ वटा बाइक छन्, त्यसैले भइहाल्छ भनेर स्कार्पियो किन्ने पैसाले एम्बुलेन्स किन्यौं।’
जनप्रतिनिधिहरूले विलासी सवारीसाधन खरिद गरेर विवादमा आइरहेको बेला कालिकोटको पचालझरना गाउँपालिकाले भने सवारीसाधन किन्ने रकमले एम्बुलेन्स खरिद गरेको हो। ‘एम्बुलेन्स किन्नुको मुख्य कारण भनेको बिरामी परेका स्थानीयको अकालमा ज्यान नजाओस् भन्ने नै हो,’ सेजुवालले भने।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स आफैंले चलाएर मंगलबार उद्घाटन गरेका छन्। एम्बुलेन्स सेवा उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले गाउँमा एम्बुलेन्स सञ्चालनमा आएसँगै स्थानीयलाई धेरै सहज हुने विश्वास व्यक्त गरे।
उनले भने, ‘साधनहरूलाई सहज ढंगले सदुपयोग गर्नुपर्छ, दुरुपयोग हुनु हुँदै ।’ उनले गाउँमा एम्बुलेन्स आउनु भनेको पनि एक किसिमको विकास भएको औंल्याए।
गाउँपालिका अध्यक्षले आफ्नो सेवासुविधा छाडेर पनि गाउँका जनताका लागि एम्बुलेन्स खरिद गरेकोमा शाहीले उनलाई धन्यवाद दिएका छन्।
गाउँमा एम्लुलेन्स आएपछि स्थानीय हर्षित बनेका छन्। त्यस क्षेत्रका बिरामीहरुलाई बोकेर सरकारमुकाम मान्ममा ल्याएर उपचार गराउने गरिएको भए पनि आपत्कालीन बिरामीले सवारीसाधनको अभावकै कारण अकाल ज्यान गुमाउनुपर्ने बाध्यता थियो। एम्बुलेन्स खरिद गरिएसँगै आपतकालीन बिरामीहरूका लागि सेवामा धेरै सहज हुने स्थानीयले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।