काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत, सिम्ता गाउँपालिका अन्तर्गत पर्ने देउली-सिर्पा-काफलकोट जोड्ने सडकमा अनियमितता गर्ने इन्जियिनरसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले मंगलबार विनियोजन भएको रकम बराबरको काम नगरी सिम्ता गाउँपालिकामा कार्यरत सिभिल सबइञ्जिनियर शिवशंकर पोख्रेल र इञ्जिनियर नवीन शर्मासहित ५ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीहरुले देउली-सिर्पा-काफलकोट सडक निर्माणमा बदनियतपूर्वक ट्रयाक ओपनिङमा नभएको कामको परिमाण देखाउने तथा बढी मूल्य पर्ने आइटममा बढी परिमाण गरेको देखाई ४ लाख ५६ हजार ४ सय ३१ रुपैया भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले देउली–सिर्पा– काफलकोट हुँदै जितेजुवा जोड्ने सडक उपभोक्ता समितिका अध्यक्ष, भुवानसिंह ठकुरी, कोषाध्यक्ष श्रीमती टिगा वली र सचिव नन्दसिंह ठकुरीलाई पनि अनियमिततामा संलग्न भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सुर्खेत सडक निर्माणको लगत इस्टिमेट र सम्झौता बमोजिम ११६० मिटरको नयाँ ट्रयाक खनी खोल्नुपर्नेमा सिम्ता गाउँपालिका कार्यालयका सिभिल सबइञ्जिनियर पोख्रेल र इञ्जिनियर शर्मासँग दूषित मनसायले मिलेमतो गरी ९४० मिटर लम्बाइ मात्र नयाँ ट्रयाक खोलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
नयाँ ट्रयाक खोलेको भनी झुठो नापी किताब एवं कार्य सम्पन्न प्रतिवेदन बनाई उक्त काममा मेसिनरी (डोजर) प्रयोग गरेको बिल भर्पाईसमेत पेस नगरी भुक्तानी लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
भ्रष्टाचार निवारण ऐन विपरीत गैरकानूनीरूपमा बढी भुक्तानी लिइ खाई मासेको रकम उनीहरुवाट असुल हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।