डोटी- आइतबार राती डोटीमा दुई यात्रुबाहक बसमा लुटपाट गरी फरार रहेका एक जना पक्राउ परेका छन्। लुटपाटमा संलग्न रहेका शिखर नगरपालिका–८ तिलतालीका गोबिन्द रावत पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता धामीले अन्य फरार युवाको खोजीकार्य भइरहेको बताएका छन्। प्रहरीले उनको संलग्नता रहेको बताएको छ। तर उनले भने भाडाका विषयमा विवाद भएको बताएका छन्।
अछामबाट कैलालीको टिकापुरतर्फ गइरहेका ना ४ ख ७२६९ र ना ५ ख ७१२१ नम्बरको बस डोटीको शिखर नगरपालिका– ६ तल्कोटमा लुटिएका थिए। लुटेराले बसमा भएको नगद ९० हजारसहित लिएर गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीले बताए।
लुटपाटका क्रममा बस लुटेराले बसका मालिकसहित तीन जना यात्रु घाइते समेत बनाएका छन्। लुटेराको कुटाइबाट उनको कान, टाउको र छातीमा चोट लागेको र सुरुमा आफ्नौ गाडीमा उनीहरुले आक्रमण गरेको पीडित तेजबहादुर मल्लले बताएका छन्।
गाडी अघि बढ्न खोज्दा पछाडिबाट ढुंगाले प्रहार गरेको मल्लले बताएका छन्। १४ वर्षको गाडी लाइनको अनुभवमा यस्तो लुटपाट पहिलोपटक भएको मल्लले बताए।
मल्लको घाँटीमा रहेको सुनको सिक्री तथा सुनको औंठी समेत लुटेर लगेका छन्। तेज मल्लको गाडी त्यहाँबाट अगाडि बढेपछि १० मिनेटमा अछामबाटै मोहन मल्लको ना ५ख ७१२१ नम्बर बस पनि उनीहरुले रोके। ढुंगामुढासहित राति साढे ८ बजे बाटो छेकेर लुटेको घाइते यात्रु अर्जुन कुँवरले बताएका छन्।
‘एक्कासी गाडी रोक्न १०/१२ जनाको समूह आयो, गुरुजी र साहुलाई सुरुमै नियन्त्रण लिएर हातपात गरे,' घाइते अर्जुनले भने, ‘झ्यालबाट बाहिर हेर्ने यात्रुलाई पनि ढुंगा हानेर बाहिरबाटै आक्रमण गरे। त्यही क्रममा मलाई पनि चोट लाग्यो।’
बसका साहुको कपडा च्यातेर नगद पैसा लुटेर भागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।