काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ प्रहरीलाई पक्राउ गरेको छ। घुस लिएको आरोपमा ४ प्रहरी सोमबार पक्राउ परेको अख्तियार जानकारी दिएको हो।
महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क, गंगबुका प्रहरी जवान देबेन्द्र बलायर समेतले सवारी दुर्घटनाको पुलिस रिपोर्ट बनाईदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको सूचना पाएपछि खटिएको अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा प्रहरी जवान देबेन्द्र बलायर, प्रहरी जवान अकाश खनाल, प्रहरी जवान निरज भण्डारी र प्रहरी जवान हिटलर साउदलाई सेवाग्राहीसँग एक लाख घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा चारै जनालाई जनही १ लाख बिगो र कानुन अनुसार सजाय मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।