डडेल्धुरा- सुदूरपश्चिमेलीहरुको विशेष पर्व 'गौरा'को अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव २०७६’ हुने भएको छ। विगतका वर्षहरु जस्तै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले राष्ट्रिय गौरा महोत्सव आयोजना गर्न लागेको हो।
यही भदौ ९ गते देखि १२ गतेसम्म जिल्ला सदरमुकामको बसपार्कमा गौरा महोत्वस आयोजना हुने आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले जनाएको छ। महोत्सवमा प्रतिस्पर्धात्मक गौरानाच, बालो नाच, चैत, धुमारी, फाग, घुइँचम्फा, हुडकेली, महिला तथा पुरुष खुल्ला डेउडा प्रतियोगिताको आयोजना हुने राधाकृष्ण मन्दिर विकास समितिका अध्यक्ष देवराज भट्टले बताए।
‘महोत्सवमा हामी संस्कृतिको ख्याल गर्दै परम्पराअनुसार नै मनाउने छौ,’ उनले भने, ‘यहाँको स्थानीय कलासंस्कृतिको सम्मान पनि होस् र युवापिढीमा हाम्रो कला, संस्कृति हस्तान्तरण पनि होस् भन्ने हाम्रो उद्देश्य हो।’
सुदूपश्चिमको मुख्य संस्कृतिका रुपमा भगवान तथा राजा महाजन, शक्तिशाली ठानिएका चर्चित व्यक्तिहरुका गाथा भन्दै चैत धुमारीमा स्थानीय बाजागाँजा ढोल, डमरु, दमाह, रुइसिंग, बिनै, बाँसुरीको धुनमा रमाउने परम्परा युवा पुस्तामा भने छाउन नसकेकोप्रति स्थानीय अगुवा तथा वृद्ध चिन्तित छन्।
महोत्सव रमाइलोका लागि भन्दा पनि चैत धुमारीजस्ता संस्कृति युवा माझमा हस्तान्तरण गर्न अभिप्रेरित गर्नुपर्ने स्थानीय संस्कतिका जानकारहरु बताउँछन्। राष्ट्रिय गौरा महोत्सवमा डडेल्धुरासहित बैतडी, डोटीका साथै तराइका जिल्लाहरु कैलाली, कञ्चनपुरबाट समेतका डेउडियाहरुको सहभागीता रहने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।