राजविराज– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्धि, सुसासन र समग्र विकासका लागि सवै पक्ष एकजुट भएर लाग्नु पर्ने बताएका छन्।
दोश्रो मधेश आन्दोलनका पहिलो शहिद राजिव राउतको चौथो श्रद्धान्जली सभामा सहभागी हुने सप्तरीको भारदह आएका राउतले विधिको शासन, सामाजिक न्याय र समग्र प्रदेशको समृद्धिका लागि हातेमालो गर्नुको विकल्प नभएको बताए।
पछाडि परेका अनि पारिएका वर्ग र समुदायलाई विकास र समृद्धिको मुल प्रवाहमा ल्याउने प्रदेश सरकारले काम गरिरहेको वताएका उनले महिला, दलित, मस्लिम, आदिवासी र जनजातिको उन्नति र प्रगतिका लागि धमाधम विधेयक पास भइरहेको उनले बताए।
‘प्रदेशसभाले निजामति विधेयक पास गरेको छ, विधेयकले आरक्षित सिटमा ५० प्रतिशत महिला सिटको ग्यारेन्टि गरेको छ,’उनले भने,‘सरकारले पछाडि परेको वर्गलाई अगाडि ल्याउन योजनावद्ध काम गरिरहेको छ। त्यसमा सबैको साथ र सहयोग चाहिएको छ।’
दलित तथा मुस्लिम सम्बन्धि विधेयक प्रदेश सभावाट पारित हुने चरणमा रहेको बताएका राउतले महिलाको समृद्धि सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए।
भदौ १ पछि प्रदेशका हरेक बालिका लखपति भएर जन्मिरहेको बताएका उनले ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तरगत हालसम्म ४ हजार ३ सय छोरीको बिमा गरिसकिएको बताए।
दुई विद्यालयका १ सय २३ छात्रालाई साईकल
मुख्य मन्त्री राउतले सप्तरीको कंकालिनि नगरपालिका–१, भारदहका दुई विद्यालयका १ सय २३ वालिकालाई साईकल वितरण गरेका छन्। ‘बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत बिपी मावि भारदह र कंकालिनी मावि पोर्ताहाका बालिकालाई एक/एक थान साईकल वितरण गरिएको हो।
बिपी माविका ७१ तथा कंकालिनी माविका ५२ जना छात्रालाई साईकल वितरण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।