काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा टेकुस्थित स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशिक्षण प्रशासक डा भक्तबहादुर केसीलाई पनि तानेको छ।
अख्तियारले गत साउन १३ गते केन्द्रका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्तालाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो। अख्तियारको टोलीले जनस्वास्थ्य अधिकृत गुप्तालाई एक लाख घुससहित काठमाडौंको बबरमहलस्थित वन विभागको परिसरबाट रङ्गेहात नियन्त्रणमा लिएको थियो।
उनकै बयानपछि अख्तियारले डा केसीलाई पनि उक्त मुद्धामा तानेको हो। अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।
‘सेवाग्राहीसँग डा केसीले रकम माग गरेको पाइएको र राम अवतार गुप्ताले घुस रकम लिई डा केसी समेतले मिलेमतो गरी लिने खाने तथ्य पुष्टि हुन आएको’ आरोपपत्रमा उल्लेख छ।
उनीहरुलाई जनही बिगो एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।