राजविराज– सप्तरी जिल्ला कारागारमा ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदीको बुधबार मृत्यु भएको छ।
सप्तरीको तिरहुत गाउँपालिका ५ लोहजराका ७९ वर्षीय रवि मरिकको मृत्यु भएको हो। ब्लड प्रेसरबाट पीडित मरिक अचानक बिरामी परेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल लाँदालाँदै बाटोमै मृत्यु भएको निमित्त कारागार प्रमुख सत्यनारायण यादवले बताए।
अस्पताल पुर्याएपछि चिकित्सकले मरिकलाई मृत घोषणा गरेको उनले जानकारी दिएका छन्। ‘बिरामी भन्ने थाहा पाउनासाथ ५ मिनेट पनि खर्च नगरी हामीले अस्पताल लग्यौं,’ यादवले भने, ‘पुर्याउँदा मरेको जानकारी पायौं। कसरी भयो भन्ने नै पत्ता लागेन।’
पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्यु कारण खुल्ने उनले बताए।
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले अस्पताल ल्याउनुअघि नै कैदीको मृत्यु भएको पुष्टि गरे।
ज्यान मुद्दामा २ वर्ष ५ महिना कैद तोकिएका मरिक २०७७ असार ६ गते कैद भुक्तानका लागि हाजिर भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।