काठमाडौं- त्यो साँझ, विपीन अन्य साँझभन्दा फरक मुडमा थिए।
मनभित्रै उकुसमुकस भएजस्तो। केही सम्झिरहेजस्तो। केही सोचिरहेजस्तो। उनी त्यसलाई पोख्न चाहन्थे।
उनले झटपट डायरी निकाले र लेख्न थाले–
न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई
बिना अर्थ दिलमा सजाएँ तिमीलाई
गजल लेख्नु रहेछ। पहिलो शेर लेखे। मन हलुका भयो। दोस्रो शेर सोचे। फुर्न सकेन।
त्यसपछिका हरेक दिन उही गजलमा घोत्लिन थाले।
कतिपल्ट लेखे। कतिपल्ट केरमेट गरे। निकै समयपछि अर्को शेर फुर्यो–
त्यो यात्रा सुनौलो, अनि साथ तिम्रो
सम्झेर भेट्न बोलाएँ तिमीलाई
२०६२ सालको सुरुवाततिर हो, उनले यो गजल लेख्न सुरु गरेका। त्यतिबेला उनी गजलमा साधनारत थिए।
साहित्यिक र सांगीतिक माहोलमा जम्दै थिए। करिब ६ महिनामा उनले गजल पूरा गरे।
यही गजल रेकर्ड भएर बजारमा आयो। अञ्जु पन्त र जगदीश समालले 'मेल' र 'फिमेल' भर्सनमा गाए। महेश खड्काले संगीत दिए।
गजल चर्चाको चुलीमा पुग्यो। त्यसताका हरेक ओठहरूले गुन्गुनाउँथ्यो यो गजल। हरेकजसो रेडियोमा, पसलमा वा जमघटमा वा बसमा।
विपिन भन्छन्, 'गजलमात्र चर्चामा आएन। हामी सबैलाई चर्चामा ल्यायो।'
त्यतिबेला अहिलेजस्तो युट्युबको बाढी थिएन। क्यासेट बिक्री हुन्थे। 'खुब बिक्री भयो क्यासेट। व्यापार पनि अपेक्षा गरेभन्दा राम्रो गर्यो,' विपीन भन्छन्।
उनले त्यसअघि लेखेका गीत पनि नचलेका हैनन्। त्यसपछिका गीत पनि सम्झनयोग्य छन्। तर, यही गजल गीतकार विपीन किरणको जीवनकै टर्निङ पोइन्ट बन्यो।
जब गजल रेकर्डिङमा गयो...
विपीन र उनका साथीहरू मिलेर 'अनाममण्डली' शृंखलाको सुरुवात गरेका थिए। जहाँ गजल वाचन हुन्थ्यो। उनले त्यहाँ आफ्नो गजल सुनाए।
साथी सर्कलमा सुनाउँदा पनि गजलले वाहवाही पायो। त्यसपछि गजल रेकर्डिङ गर्ने रहर जाग्यो। कसलाई गाउन दिने भनेर उनी अलमलमा परे।
उनको गजल अञ्जु पन्तले गाउने भइन्। गजल रेकर्डिङका लागि स्टुडियोमा गयो।
त्यतिबेलाको एउटा प्रसंग उनी सधैं सम्झिरहन्छन्।
स्टुडियोमा अञ्जु गाउँदै थिइन्। विपीनलाई आफ्नै गजल कतै अधुरो भयो कि भन्ने भान भयो। उनको मस्तिष्क मडारिएको बादल जसरी मडारिन थाल्यो। त्यति नै बेला उनले अर्को शेर सम्झे। संगीतकार महेशलाई आग्रह गरेर नयाँ शेर अन्तिममा थपौं भने। महेशले 'हुन्छ' भने। त्यसपछि अन्तिम शेर रेकर्डिङको क्रममा थपियो–
अनायासै मेरो दुख्यौ जिन्दगीमा
परेली भिजाई बगाएँ तिमीलाई
रेकर्डिङपश्चात् उनको एल्बम नै बाहिर आयो। २०६४ सालमा 'किरण' नामबाट।
एल्बममा ८ वटा गीत समावेश थिए। प्रायः सबै नै चले। इन्दिरा जोशीले गाएको 'टुट्यो तारा आकाशमा' र दीपक लिम्बूले गाएको 'ए जुन' पनि लोकप्रिय भए। त्यसमध्ये पनि 'न बिर्से तिमीलाई' त आजसम्म स्रोताको जिब्रोमा झुन्डिएरहेकै छ।
संगीत-सम्बन्ध
विपीन सुदुरपूर्व भोजपुरका हुन्। सुरुवाती दिनमा कविता लेख्थे उनी। काठमाडौं आएपछि गीत र गजल लेख्न थाले। प्लस टु पढ्दाताका साहित्यिक र सांगीतिक माहोल त भएन। तर, जब उनी नेपाल कमर्स क्याम्पसमा गए, त्यहाँको साहित्यिक माहोलले चुम्बकले फलाम तानेजसरी तान्यो।
कमै साथीहरू भएको समयमा मीनभवनमा उनको भेट मदन गोपालसँग भयो।
मदन संगीत सिकिरहेका थिए। एकदिन कलेजको स्वागत कार्यक्रममा मदनले विपीनको गजल गाए। त्यसपछि उनीहरूबीचको निकटता अझै प्रगाढ भयो।
भेटका क्रममा मदन र विपीनले गीत रेकर्ड गर्ने योजना बनाए। बुनेको योजना सार्थक भयो। गीत रेकर्ड भयो। गीत विपीनको, संगीत र स्वर मदनको।
मेरो मनको फूलबारीमा बहार लिई आयौ
यस्तो लाग्छ तिमीले मेरो जीवन जगमगायौ
यो गीतले विपीनलाई आफ्नो ठाउँमा चिनाउन मद्दत पुर्याएको थियो।
त्यसपछि त उनलाई सांगीतिक माहोलमा जम्न खासै गाह्रो भएन। एकदिन विपीनको भेट संगीतकार महेश खड्कासँग भयो, संगीतकै सिलसिलामा।
सोचाइ र मन मिलेपछि सम्बन्ध प्रगाढ हुन्छ। त्यस्तै भयो। महेशसँग छिट्टै नजिकिए विपीन। महेशले एउटा एल्बममा काम गर्दै थिए। गायक उदितनारायण झा र साधना सरगमसँग। त्यस एल्बमको बारेमा महेशले विपीनसँग कुरा गरे।
'एल्बम् निकाल्दै छु। नयाँ गीत भए देऊ है,' यस्तै कुरा भयो विपीनसँग महेशको।
विपीनले दुई वटा गीत लेखेका थिए। 'तिम्रो पछ्यौरी,' र तिम्रो नजर भुलाउन'। विपीनका अनुसार होमवर्क गर्दाताका लेखिएका गीत थिए ती। किताबहरू पढ्दै गर्दा लेखिएका। निकै व्यस्त समयमा लेखिएका।
बिहान कलेज पढ्थे, दिउँसो स्कुल पढाउँथे। साँझको समयमात्र साथीहरूसँग भेटघाट हुन्थ्यो। स्कुलको काम सकेर प्रायः उनी संगीतकार महेशको अफिस पुतलीसडकमा पुग्थे। महेशसँगको संगतमा धेरै आइडियाहरू पनि पाए विपीनले।
त्यही सिलसिलामा उनले पहिलो गीत लेखे, 'तिम्रो नजर भुलाउन'।
त्यसको केही समयपछि अर्को गीत लेखे, 'तिम्रो पछ्यौरी'।
'महेश दाइले मागेपछि मैले दुवै गीत दिएँ,' विपीन भन्छन्।
गीत रेकर्डिङ भएर आयो। राष्ट्रकवि माधवप्रसाद घिमिरे र अग्रज स्रष्टा कृष्णहरि बरालसम्मका गीत एल्बममा समेटिए।
बजारमा एल्बम आइसकेपछि विपीन चकित परे। उनको गीत लोकप्रिय भयो। एकाएका उनका प्रशंसक बढ्न थाले।
'अपेक्षा गरेको पनि थिइनँ। यति धेरै चर्चा होला भनेर त,' ती दिन सम्झँदै उनी भन्छन्।
आशामा बद्लिएको निराशा
पहिलो एल्बमका गीतहरूले विपीनलाई लोकप्रिय मात्र बनाएनन्, चुनौती पनि थपिदिएका थिए। 'न बिर्सें तिमीलाई'को वाहवाही सकिएको थिएन। यही लोकप्रियताबीच उनी दोस्रो एल्बमको तयारीमा लागे।
२०६६ मा निस्किएको एल्बमको एउटा गीतले विपीनलाई साबितै गरिदियो। त्यो थियो– 'बल गरेर त्यो मन यता'।
स्वरुपराज आचार्यको आवाज र महेशकै संगीत थियो त्यसमा। यही गीतसँगै स्वरुपराजसँग उनले पहिलो काम गरे। गीतबाटै विपीन र स्वरुपले एक अर्कालाई बुझ्ने मौकासमेत पाए।
गीत लोकप्रिय भयो। यद्यपि, लोकप्रिय हुनुमा भिन्नै कथा छ।
जुन बेलामा विपीनले गीतका अपेक्षा गरेका थिए, त्यसबेला गीत चलेन। रेकर्डिङ पछाडि गीतको प्रमोसनमा पनि निकै लागेको थियो टिम। तर, ६ महिनासम्म पनि गीत नचलेपछि टिमलाई नै निराश बनायो। त्यसबेला क्यासेट र आरबिटीको आधारमा गीत कति चल्यो भन्ने निर्धारण हुन्थ्यो।
यति राम्रो गीत किन चलेन?
सबैको मनमा यही प्रश्नले घोचिरहेको थियो। तर, अचानक गीतले बजार लिन थाल्यो। धमाधम क्यासेट बिक्री हुन थाल्यो। गीत प्रमोसनको क्रममा श्याम अर्यालले गरेको सहयोग भुल्न सक्दैनन् विपीन।
जब गीत चल्न थाल्यो, तब कहिल्यै पछि फर्केर पछाडि हेर्नुपरेन।
त्यतिबेला 'एससिएल'मा सबैभन्दा बढी डाउलोड भएमध्येमा परेको थियो यो गीत।
विपीन भन्छन्, 'गीतप्रतिको हाम्रो जुन विश्वास थियो। त्यो गलत साबित भएन।'
एल्बममा अरु गीत पनि थिए। तिनलाई प्रमोसन गर्ने समय भएन। त्यसकारण अरु गीत त्यति नचलेको स्विकार्छन् उनी।
त्यसपछि तेस्रो एल्बम पनि निकाले। तर, बजार लिन सकेन।
यद्यपि, निरन्तर गीत लेखनमा भने विपीनको कलम चलिरहेको छ। नयाँ एल्बम 'प्रत्युष'को काम गरिरहेका छन्। नयाँ एल्बममा भने उनको अपेक्षा बढ्दो छ। 'मेल'/'फिमेल' भर्सन गरेर तीन वटा ट्र्याकमा ६ वटा गीत बनेको छ। जसमा राजेश पायल राई, दुर्गा खरेल लगायतको आवाज सुन्न सकिन्छ।
छायाँमा गीतकार
विपीनले आजसम्म झन्डै डेढ सयभन्दा बढी गीत लेखिसकेका छन्। तर आफ्ना गीतमा सन्तुष्ट भएको बताउँछन् उनी। गीतकारहरू छायाँमा पर्दा उनलाई मात्रै होइन अरु गीतकारलाई पनि दुःख लाग्छ। चर्चाको श्रेय गायक/गायिकालाई जान्छ।
विपीनले पनि यही अवस्था भोग्नुपर्यो। 'दुःख त लाग्छ नै। तर, स्रोता/दर्शकको 'आई कन्ट्याक्ट'मा जो पुग्छ, उनीहरू नै चर्चामा आउने हुन्,' भन्छन्, 'मलाई आजकाल यो सामान्य लाग्न थालिसक्यो।'
कहिलेकाहीँ सर्जकको नाम नै गलत भनिदिँदा भने आफूलाई पीडा हुने गरेको विपीनको अनुभव छ।
'मलाई त्यतिबेला चाहिँ दुःख लाग्यो, जुनबेला एल्बम नै गायिकाको भनेर हल्ला गरियो,' उनी सुनाउँछन्।
तर, जसले गीतसंगीत बुझ्न चाहन्छ। उसले पृष्ठभूमि खोतल्छ नै। त्यसबेला सबैभन्दा बढी जस संगीतकार र लेखकले पाउने भएकाले त्यो ऊर्जा उनी गीतमै पोखिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।