स्वतन्त्रता दिवसका अवसरमा पाकिस्तानी दूतावासमा विशेष कार्यक्रम

नेपाल लाइभ | २०७६ श्रावण २९ बुधबार | Wednesday, August 14, 2019 १३:४९:०० मा प्रकाशित

काठमाडौं- पाकिस्तानले आफ्नो ७३औं स्वतन्त्रता दिवस मनाएको छ।

स्वतन्त्रता दिवसको अवसरमा बुधबार नेपालस्थित पाकिस्तानी दूतावासले आफ्नो परिसरमा विशेष कार्यक्रमका बीच झण्डोत्तलन गर्दै दिवस मनाएको हो।

७३ वर्ष अगाडि भारतबाट विभाजन भएको पाकिस्तानले हरेक वर्ष १४ अगस्टलाई आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ। दूतावासमा आयोजित कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानी जनतामा सुख शान्ति र खुसीयाली बाँड्दै विश्वभरी बन्धुत्व र भाइचाराको कामना गरेको सन्देश पढेर सुनाइएको थियो।

प्रधानमन्त्रीको शुभकामना सन्देशमा राष्ट्रिय एकता र सर्वाभौमिकताका लागि सबै पाकिस्तानी जनता एक हुनुपर्ने उल्लेख छ।

नेपाल सरकारले पनि पाकिस्तानको ७३औं स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तान सरकारलाई शुभकामना व्यक्त गरेको छ। (फाइल तस्बिर)