नेपालभित्र वा बाहिर रहेका हाम्रो पुस्ताको अवस्था हेर्दा मलाई आशिष राना (लाहुरे) को एउटा गीतको हरफ याद आउँछ–
'हामी भगवान्को बच्चा
सानैदेखि साह्रै नै कच्चा,
आपुई भूत भनी खुब डराइन्थ्यो जुन थियो अदृश्य
तर भूतभन्दा पनि सम्झेर डर लाग्छ आज आफ्नै भविष्य
यो अवस्था सबैमा मेल खान्छ, अपवादबाहेक। उमेर सबैको एकै हो। युवा अवस्था एकै हो। तर नेपालका युवा र युरोप, अमेरिकाका युवाको अवस्था किन फरक? गाँस, बास, कपास, रोजगारी र सुशासनको अभावका कारण दैनिक रुपमा सयौं युवा जमात आज विदेशमा छन्।
जति युवा विदेशमा छन्, उनीहरु दुई भागमा विभाजित छन्। एक भाग खाडी मलेसियातिर छन् भने अरु युरोप/अमेरिका/अस्ट्रेलियातिर। छन त दुवै समूह विदेशमा छन् तर उनीहरुको कथा फरक छ।
खाडीको कहर
घरमा सात-आठ जनाको परिवार छ। भान्सामा एक माना चामल पाक्छ। बुवा श्रमजिवी, उहाँ घामपानीको पर्वाह नगरी १२ बजेको तातो घाममा खेत जोत्न पुग्नुहुन्छ। बोराका बोरा सिमेन्ट पनि बोक्नुहुन्छ। कुनै झरी बतासको पर्वाह नगरी खोलामा बालुवा पनि चाल्नुहुन्छ। गिटी कुट्नुहुन्छ। तर, भोकले अर्धैय साना छोराछोरी अँगेनाको डिलमा बसिरहेका हुन्छन्।
दिनभरिको थकानले बुवा आउनुभएको हुन्छ। थाल खाऊँ कि भात खाऊँ अवस्थामा आधापेट भए पनि आमाले सबैलाई खान त दिन्छिन्, तर उनी आफू भने भोकै।
घरको छाना टाल्ने, भएको भाँडामा सामल हाल्ने, एकसरो राम्रो लुगा लगाउने अनि सन्तानलाई राम्रो र गुणस्तरीय शिक्षा दिलाउने आसमा उनीहरु आज खाडीमा छन्।
अभावैअभावमा छोरा ठूलो हुन्छ। ऊसँग स्कुलले बैसाखमा दिएको पुरानै भए पनि एक सेट किताब त हुन्छ तर लेख्नलाई कलम हुँदैन। किताब बोक्नका लागि झौला हुँदैन। जस्तै भए पनि सर्ट र पाइन्ट त हुन्छ तर सर्टमा टाँक हुँदैन। पाइन्टमा फसनर। खुट्टमा जुत्ता त हुन्छ तर बुँढी औंलाले बाहिर चियाउँदै लुकामारी खेल्न थालिसकेको हुन्छ।
उसलाई सानैदेखि प्लेन पनि चढ्ने रहर होला तर एकाएक उसका रहर बाध्यतामा बदलिन्छन्। यो यथार्थ खाडी जाने अपवादबाहेक सम्पूर्णमा मेल खान्छ। घरको छाना टाल्ने, भएको भाँडामा सामल हाल्ने, एकसरो राम्रो लुगा लगाउने अनि सन्तानलाई राम्रो र गुणस्तरीय शिक्षा दिलाउने आसमा उनीहरु आज खाडीमा छन्।
अस्ट्रेलिया, युरोप र अमेरिका
सानो परिवार छ, तीन-चार जनाको। बुवाआमा राम्रै पेसा व्यवसायमा लाग्नुभएको छ। समाजमा परिवारको राम्रो नाम र प्रतिष्ठा छ। आधुनिक विज्ञान र प्रविधिले दिएको सम्पूर्ण सुविधा उपभोग गर्न पाएका छन्। नाम चलेकौ नामी विद्यालयमा पढ्छन्।
उमेर बढ्दै जाँदा उनीहरुमा पश्चिमा संस्कृति र भाषाको ठूलो प्रभाव परिसकेको हुन्छ। मोर्डनाइज्ड हुन वेस्टर्नाइज्ड हुनैपर्छ भन्ने गलत मानसिकताबाट यति ग्रसित हुँदै जान्छन् कि नेपाली भाषा, संस्कृति, रहनसहन, भेषभूषा उनीहरुलाई खल्लो लाग्दै जान्छ। उनीहरुको नजरमा यस्तो गलत मानसिकताले डेरा जमाएर बस्छ कि स्पष्टसँग नेपाली मात्र अंग्रेजी नमिसाई बोले पाखे…। टिपिकल नेपाली गाउँले रहनसहनमा रमाउन खोजे पाखे…। अंग्रेजी संगीत गाउन नजान्ने पाखे…।
युरोप, अमेरिका जाने युवाहरुका अभिभावकको छुटै सामाजिक मान मर्यादा छ। उनीहरुलाई आफ्नो अन्तरमनको आनन्दभन्दा पनि सामाजिक प्रतिष्ठा, मान, सम्मानले बढी महत्व राख्छ।
यसरी कुनै देशको भाषा, धर्म र संस्कृतिप्रति गाढा प्रभाव पर्दै गएपछि उनीहरुको मन स्वदेशमा अडिएला र? भौतिक शरीर त स्वदेशमै रहला तर तनमन सबै अस्ट्रेलिया, युरोप अमेरिका पुगिसकेको हुनेछ।
कुलीन घरपरिवार भनौंदाहरुले चर्पी सफा गर्ने, भाँडा माझ्ने, गाडी धुने कामलाई सानो भनी हेला, हेयको दुष्टिले हेर्छन्।
अर्कातिर हामीले आज अमेरिका, अस्ट्रेलिया जाने लोभमा आफ्नै नैतिकता तिलाञ्जली दिन तयार छौं। पिआर पाउने र उतै सेटल हुने आसले अन्जानको व्यक्तिसँग झुटो विवाह पनि गरिन्छ। त्योभन्दा पनि भयानक कुरा त काका भतिजीसँग, बहिनी दाजुसँग अनि मामा भान्जीसँग झुटो विवाह गर्न तयार हुन्छन्, अस्ट्रेलिया जानका लागि।
आज सम्पन्न देशमा उच्च शिक्षा लिन जाने विद्यार्थीमध्ये जो छात्रावृत्तिमा गएका छन्, माथिका उदाहरण उनीहरुमा मेल नखान सक्छ।
युरोप, अमेरिका जाने युवाहरुका अभिभावकको छुटै सामाजिक मान मर्यादा छ। उनीहरुलाई आफ्नो अन्तरमनको आनन्दभन्दा पनि सामाजिक प्रतिष्ठा, मान, सम्मानले बढी महत्व राख्छ। बुवाआमाको यस्तै मानसिकताको फलस्वरुप स्थापित वातावरणमा उनीहरु हुर्किन्छन्।
यही मानसिकताबाट ग्रसित अभिभावक आफ्ना छोराछोरीलाई 'जे गर तर समाजमा नाक काट्ने काम नगर'को सुगा रटाइ प्रत्येक दिन रटाउँछन्। प्रत्यक्ष/अप्रत्यक्ष रुपमा गुन्डा नाइके, भ्रष्ट कर्मचारी, प्रहरी माफिया र कमिसनको भरमा हिँड्ने नेता, न्यायाधीशहरुको मोजमस्ती जीवनशैली देखाएर बाल मनोविज्ञानको चिरहरण गरिरहन्छन्।
अझै सानो आशा भने बाँकी नै छ। विदेशी सिप स्वदेशी लगानी अन्तर्गत युवालाई प्रोत्साहन सरकारी र निजी लगानीमा एक गाउँ-एक उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने हो भने देशले केही वर्षमै मुहार फेर्नेछ।
जन्मदिन, विवाह, सरुवा बढुवा आदि शुभकार्यको नाममा सानैदेखि विदेशी महँगा रक्सी, विदेशी गीतसंगीत, परिकार, डिस्को र बारमा लगेर सिकाएपछि विदेश जानुभन्दा अर्को बाटो के नै रोज्न सक्ला र?
जो पहिला गए र अब जो जान खोज्दैछन्, उनीहरुमा माथिका कति कुरा मेल खान्छन्- मनन गर्न जरुरी छ।
खाडी र अभिभावक
खाडी जाने युवाको अभिभावक तुलनात्मक रुपमा ९० प्रतिशत अशिक्षित छन्। उनीहरुलाई अरुका छोराछोरी ठूलो भएको राम्रो, जागिर खाएको, उच्च शिक्षा हासिल गरेको त राम्रो लाग्छ तर आफ्नो छोराछारी पढाउनुपर्छ भन्ने चेतना पूर्ण छैन। कहिलेकाहीँ पढाउनुपर्छ भन्ने पनि लाग्छ र भर्ना गरिदिन्छन्।
तर, आफ्नो गरिबीलाई दोष दिँदै भनेको र चाहिएको बेला कपी, कलम, जुत्ता, मोजा किँनिदिदैनन्। तर बेलुका साथीभाइसँग रमाइलो गर्ने र मदिरापान गर्ने बेला उसले आफ्नो गरिबी बिर्सिन्छ। साँझमा 'सारा संसार आज मेरै हो' भन्ने पाराले घरी पूर्व, घरी पश्चिम गर्दा जसोतसो घर त पुग्छन्। अनि श्रीमतीसँग झर्किएर अपशब्द प्रयोग गर्न थाल्छन्।
अरु आधारभूत आवश्यकता (गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य) भन्दा पनि मदिरा र जुवातासले गर्दा ऋण बढ्दै जान्छ। यस्तो अभावैअभावमा हुर्किने बाल मनोविज्ञानमा कस्तो असर पर्ला? के हामी कल्पनाभन्दा बेसी केही गर्न सक्छौं र?
थाहा छैन यो अन्धकार यात्रा कहिले सकिने हो? उज्यालोमा हाम्रो पाउ कहिले पर्ने हो?
अझै सानो आशा भने बाँकी नै छ। विदेशी सिप स्वदेशी लगानी अन्तर्गत युवालाई प्रोत्साहन सरकारी र निजी लगानीमा एक गाउँ-एक उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्ने हो भने देशले केही वर्षमै मुहार फेर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।