ट्रकले ठक्कर दिँदा अरुण खोलाको पुल भाँचियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नेपाल लाइभ | २०७६ श्रावण २९ बुधबार | Wednesday, August 14, 2019 ०८:३६:०० मा प्रकाशित

कावासोती- नवलपरासी पूर्वको अरुण खोलामा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। मध्यविन्दू नगरपालिकाअन्तर्गत अरुण खोलामा बनाइएको पुलमा आज बिहान ४ बजेको समयमा ट्रक ठोक्किँदा पुलमा क्षति पुगेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४७१ नंको ट्रक पुलमा ठोक्किँदा दुई मिटर तल लच्किएकाले पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने अवस्था भएको प्रहरी निरीक्षक अधिकारीले बताए। ट्रकसमेत पुलको फलाममा अड्किएकाले निकाल्ने काम भइरहेको उनले बताए।

ट्रक निकाले पनि पुलबाट ठूला सवारीसाधन आवतजावतमा समस्या हुने उनले बताए। पुलमा क्षति पुगेपछि अहिले राजमार्गमा सावरीसाधनहरुको लामो लाइन लागको छ। प्रहरीले पूर्वबाट आउने सवारीबाट यात्रुलाई उतारी पूर्व नै फर्किने र पश्चिमबाट आएका सवारीलाई समेत यात्रु उतारेर पश्चिम नै फर्किने व्यवस्था गरिरहेको छ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार तत्काल पुल मर्मत हुनसक्ने सम्भावना कम भएकाले चितवन प्रहरी र बुटवल प्रहरीलाई खबर गरी वैकल्पिक बाटोको प्रयोग गरी सवारी सञ्चालनका लागि भनिएको छ।

साना सवारीलाई भने एकतर्फी रूपमा सञ्चालन गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए। रासस/तस्बिर-महेश्वर लम्साल