डडेल्धुरामा आत्महत्या गर्नेको संख्या बढ्दो, तीन वर्षमा ५५ जनाले गरे आत्महत्या

ललित बोहरा | २०७६ श्रावण २९ बुधबार | Wednesday, August 14, 2019 ०७:३३:०० मा प्रकाशित

डडेल्धुरा- डडेल्धुरामा आत्महत्याका घटनामा वृद्धि भएको छ। गत आर्थिक वर्ष २०७५/०७६ मा डडेल्धुराका विभिन्न स्थानमा आत्महत्या गर्नेको संख्या ३१ छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधीराम न्यौपानेका अनुसार गत आवमा झुण्डिएर आत्महत्या गर्नेको संख्या २३ छ भने ८ जनाले विष सेवन गरी आत्महत्या गरेका छन्।

आव २०७३/०७४ मा १४ जना र २०७४/०७५ मा १० जनाले झुण्डिएर आत्महत्या गरेका थिए।

मुद्दातर्फ पनि आत्महत्यासम्बन्धी मुद्दा धेरै रहेको न्यौपानेले बताए। गत आवमा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका कूल ८० थान मुद्दामध्ये सबैभन्दा बढी आत्महत्याका मुद्दा रहेको उनको भनाइ छ।

उनले मानिस आत्महत्यासम्म पुग्नुका पछाडि धेरै कारणहरु जोडिएको हुनसक्ने आँकलन गरे। ‘आत्महत्या गर्नुका विभिन्न कारण हुन्छन्। डडेल्धुराको सन्दर्भमा मानसिक समस्याबाट ग्रसित, साथीभाइ, परिवार र आफन्तबाट तनाबग्रस्त, आशाबिहीन, विगतमा पनि आत्महत्याको प्रयास गरेको, अत्याधिक औषधि सेवन गरेको, स्वयम्‌लाई चोट पुर्‍याउने, गरिबी, बेराजगारी, एक्लै बस्ने, लागुऔषधको सेवन, सम्बन्ध बिच्छेद मुख्य छन्।’

यसले एकातिर अपराध बढ्दै गएको देखिन्छ भने अर्काेतर्फ प्रहरीको सक्रियता बढेसँगै मुद्दाको संख्यामा वृद्धि भएको हुनसक्ने उनले आँकलन गरे। उनले भने, ‘प्रहरी प्रसाशनको सक्रियता गाउँ-गाउँमा पुगेकाले मुद्दाहरुको संख्या पनि बढेको हुनसक्छ। नियन्त्रण त सकिँदैन न्यूनीकरणका प्रयास गरेका छौं।’

जिल्लामा चालू आवमा पनि एक जनाले आत्महत्या गरिसकेका छन्। ३ जनाले विष सेवन गरी आत्महत्याको प्रयास गरेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराको अपराध अनुसन्धान शाखाले जनाएको छ।

अपराध अनुसन्धान विभागमा काम गरेका डिएसपी न्यौपानेका अनुसार विद्यायलमा पढ्ने ९ वर्षीया बालिकादेखि युवायुवती, वयस्क र वृद्धहरूले समेत आत्महत्या गरेका तथ्यहरू फेला परेका छन्। नेपालमा प्रत्येक २ घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको तथ्यसमेत जानकारी रहेको उनको भनाइ छ।

३ वर्षमा सवारी दुर्घटनामा ५४ जनाको मृत्यु
डडेल्धुरामा ३ बर्षमा सवारी दुर्घटनामा ५४ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार गत वर्ष भएका १३ वटा सवारी दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि गम्भीर घाइते हुनेको संख्या ३० छ भने साधारण घाइते हुनेको संख्या ७९ रहेको छ।

डडेल्धुरा प्रहरीको तथ्यांक अनुसार डडेल्धुरामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्दै गएको देखिन्छ। सवारी दुर्घटनामा परि आव २०७३/७४ मा १० जना र आव २०७४/७५ मा ९ मृत्यु भएको छ। पछिल्लो तीन बर्षको अवधिमा ५४ जनाले ज्यान गुमाएका छन्।

ट्राफिक जाँचका क्रममा सवारीसाधन कारबाहीको संख्या वर्षेनि घट्दै गएको देखिएको छ। संख्या घटे पनि राजश्व संकलन भने झण्डै दोब्बरले बढेको छ। जरिवनाको राजश्वमा वृद्धि गरिएकाले गत वर्ष सवारीसाधन जाँचबाट २० लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको उनले बताए।