राणाकालमा खेलकुदमा सक्रिय राणाहरूको गजबको सोख थियो। उनीहरू छिमेकी भारतमा खेलकुदका विभिन्न कौशल सिक्न जानलाई बिरामी भएको बहाना बनाउँथे। यी राणाहरूमा पनि सबैभन्दा बढी बहाना बनाउनेहरूमा थिए, नरशमशेर र मदनशमशेर राणा। मदनशमशेर विशेषतः क्रिकेटका सौखिन थिए। तर, नरशमशेर सबै खेलप्रति उत्तिकै झुकाव राख्थे। त्यसमा पनि फुटबल उनको सर्वाधिक रुचीको विषय थियो।
त्यतिबेला काठमाडौंको राणा दरबारमा फुटबल र क्रिकेट जस्ता आधुनिक खेल नभित्रिएका होइनन्। तर, यो खेल बढी हिंस्रक हुने भन्दै खेल्न कडाइ गरिन्थ्यो। ९० सालताका नरशमशेर पुनः बिरामीको बहाना बनाउँदै भारतको कोलकाता गएका थिए। त्यहाँबाट फर्केपछि उनी कोलकातामा जस्तै काठमाडौंमा एउटा लिग फुटबल गराउन चाहन्थे।
त्यतिबेलासम्म काठमाडौंमा सिंहदरबार, लक्ष्मी निवास, टंगाल दबार, जावलाखेल, नरसिंह क्याम्प, बबरमहल र पाटन दरबारभित्र आन्तरिक फुटबल म्याच हुने गर्थ्यो। नरशमशेरको अथक प्रयासपछि नेपालको पहिलो अनधिकृत लिग फुटबलको आयोजना भयो, १९९५ सालमा। त्यो लिग पाटन टुँडिखेलमा हुने निधो भएको थियो, जहाँ अहिले राजदलको आर्मी ब्यारेक बसेको छ।
यो लिगमा नरशमशेरको सक्रियतामा जावलाखेल, भारतीय दूतावासका कर्मचारी मिश्रित ठमेल, डिल्लीबजारको महावीर क्लब, पाटन, ऋषिकेश शाहहरूको सक्रियतामा रहेको इन्टर इन्स्च्यिुट लगायतका टोली सहभागी थिए।
लिगका खेल एक घन्टा खेलाइन्थ्यो। सबै खेलाडी खाली खुट्टै मैदानमा उत्रिएका थिए। त्यतिबेला फुटबल पाकिस्तानको स्यालकोटबाट झिकाउने गरिन्थ्यो। रबरको ब्लाडरमा हावा हालेर बाहिर छालाले बेरेर लेस बान्नुपर्ने बलमा खेलाइएको नेपालको पहिलो अनधिकृत लिग भने पूरा हुन सकेन। कारण थियो, जावलाखेल र ठमेलबीचको खेलमा नरशमशेर र रामनारायण मिश्रबीचको झगडा।

राजा त्रिभुवनसँग उभिएको पहिलो लहरमा नरशमशेर (सिसाको गिलास बोकेका)
नरशमशेर त्यतिबेला राजनीतिक रूपमा निकै शक्तिशाली थिए। सत्तामा उनी निकट परिवारको बाहुल्य थियो। उनको पहिलेदेखिको मान्यता थियो, मैदानमा छिरेपछि हार्नै हुन्न। त्यही मान्यताले रामनारायण र उनीबीच मैदानमा झगडा भएको थियो।
त्यतिबेला फुटबल प्राविधिक रूपमा भन्दा पनि मुढेबलमा खेलिन्थ्यो। प्रत्येक टोलीमा कुस्ती सिकेका ४–५ खेलाडी हुन्थे। गोलरक्षक बन्नु भनेको जोखिमको काम हुन्थ्यो। त्यसैले लरतरो मान्छे गोलकिपर बस्न मान्दैनथे।
लिग खेल्ने अन्य टोलीमा समावेश नेपाली खेलाडी त्यतिबेला नरशमशेर भनेपछि थुरथुर हुन्थे। उनीहरू नरशमशेरसँग भिड्न जानु त परको कुरा, नजिकै जान पनि डराउँथे। एक त राजनीतिक पहुँच, त्यसमा पनि गठिलो शरीरका नरशमशेरलाई देख्नेबित्तिकै मैदानमा धेरैको पसिना छुट्थ्यो।
तर, रामनारायण भारतीय दूतावासका कर्मचारी थिए। त्यतिबेला दूतावासका थुप्रै कर्मचारी फुटबल खेल्न ठमेल–११ मा आबद्ध हुन्थे। अहिले भारतीय दूतावास भएको ठाउँको नाम लैनचौर हुनुमा पनि यी भारतीय खेलाडीको ठूलो हात रहेको मानिन्छ।
‘त्यतिबेला दूतावासमा बस्ने केटाहरूलाई लैन छोकरा (केटा) भनेर बोलाउने गरिन्थ्यो। त्यही लाइनमा चौर थियो, अहिले स्काउट भएको ठाउँमा। पछि त्यही दुइटा शब्द अपभ्रंश हुँदै त्यो ठाउँको नाम लैनचौर बन्न गयो’, १९९५ सालको लिगका प्रत्यक्षदर्शी हिमालयशमशेर भन्छन्।
रामनारायण जावलाखेल विरूद्धको खेलमा नरशमशेरसँग बल खोस्न गएका थिए। त्यही क्रममा यी दुईबीच झगडा भएको थियो। पछि यी दुईको झगडा त्यसबेलाका राणा प्रधानमन्त्रीकहाँ समेत पुगेको थियो। त्यतिबेला सत्तामा रहेका राणाहरूको भनाइ थियो, ‘राणाहरूले जनतासँग झगडा गर्नहुन्न।’
नरशमशेरको लिग खेलाउने अभियानमा सुरुदेखि नै विरोध गर्दै आएका राणाहरूका लागि यो प्रसंग काफी थियो, लिग रोक्न।
‘त्यतिबेला नरशमशेरको ठूलो आलोचना भएको थियो’, हिमालय सम्झन्छन्।
लिग रोक्न आदेश आएपछि नेपालमा पहिलोपल्ट आयोजना गरिएको अनधिकृत लिग रोकियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।