राजविराज- प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट सोमबार साँझ सप्तरीमा एक साइकल यात्रीको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय भारदहमा कार्यरत प्रहरी जवान रोशन थापाले चलाएको को३४प ८३३७ नम्बरको मोटरसाइकलको ठक्करबाट अग्निसाइर कृष्णासवरण गाउँपालिका-१, घोघिदहका ६५ वर्षीय मोतिलाल चौधरीको मृत्यु भएको हो। ३० वर्षीय थापा सुनसरीको इनरुवा नगरपालिका-२, कुसुमगाछि निवासी हुन्।
पूर्व जाँदै गरेको थापा सवार मोटरसाइकलले अग्निसाइर कृष्णासवरण गाउँपालिका-१, जण्डौलमा सडकमै रहेको गाईलाई ठक्कर दिएपछि अनियन्त्रित भएर साइकलयात्रीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका चौधरी र गाई दुवैको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर मकेन्द्र मिश्रले जानकारी दिए। थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।