नागढुंगादेखि कलंकीसम्मको सडकको डिभाइडर र किनारा हरियाली बनाइने

नेपाल लाइभ | २०७६ श्रावण २७ सोमबार | Monday, August 12, 2019 १३:०५:०० मा प्रकाशित

काठमाडौं- सरकारले राजधानी भित्रने प्रमुख नाका नागढुंगादेखि कलंकीसम्मको सडकको डिभाइडर तथा किनारालाई हरियाली बनाउने कामको थालनी गरेको छ।

वन तथा वातावरण मन्त्रालयले सडक विस्तार कार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षारोपण अभियान सुरु गरेको हो। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नागढुंगामा कपुरको बिरुवा रोपेर सोमबार अभियानको विधिवत थालनी गरे।

नागढुंगादेखि थानकोटसम्मको तीन किलोमिटर सडकको निर्माणकार्य सम्पन्न भएकाले सो स्थानमा वृक्षारोपण गर्न लागिएको वन विभागका महानिर्देशक एवं सहसचिव डा रामप्रसाद लम्साललले जानकारी दिए।

लम्सालले विस्तार जारी रहेको सडकको काम सकिएपछि क्रमशः कलंकीसम्मै वृक्षारोपण गरिने जानकारी दिए। यसअघि मन्त्रालयले कोटेश्वर-कलंकी सडकखण्डमा वृहत वृक्षारोपण गरिसकेको छ।

मन्त्रालयले देशभर ५ करोड वृक्षारोपण गर्ने योजनाअनुसार अभियान सञ्चालन गरेको छ।