बैतडी- बैतडीको सिगास गाउँपालिका कर्मचारी विहीन भएको छ। कार्यालय सहयोगीसहित ४ जना कर्मचारी मध्ये प्रमुख प्रशासकीय अधिकृत बिदामा बसेपछि कार्यालयमा कोही नभेटिएको सेवाग्राहीले गुनासो गरेका छन्।
प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी जनक धामीलाई ताकेको बताए। निमित्त प्रमुख जनक धामी एक कार्यक्रममा र सूचना प्रविधि अधिकृत टेकेन्द्रप्रशाद भट्ट फिल्ड गएपछि गाउँपालिका कर्मचारीविहीन भएको हो।
सूचना प्रविधि अधिकृत भट्टले ४ जना कार्यालयमै रहेको भन्दै झुटो बोल्न समेत पछि परेनन्। तर कुरा गर्दै जादाँ उनले आफू विद्यालयका डाटा माग्न आएको बनावटी प्रक्रिया दिए।
चार जनामा कर्मचारी मात्र रहेको गाउँपालिकामा आइतबार कार्यालय सहयोगी मात्र भेटिएपछि एक दिनको पैदल हिडेर काम गर्ने गएका सेवाग्राहीले रित्तो हात फर्किनु परेको सेवाग्राही राम विष्टले जानकारी दिएका छन्।
प्रमुख प्रशासकीय अधिकृत अवस्थीले आफू ७ दिनको बिदामा बसेको र गाउँपालिका अध्यक्ष हरिसिंह धामीले काठमाडौं जानु पर्ने भनेकाले केही दिनपछि मात्र कार्यालयमा हाजिर हुने नेपाल लाइभलाई प्रतिक्रिया दिएका छन्।
कार्यालयमा कर्मचारी रहेको र सेवाग्राहीले झुटो बोलेको उनको दाबी छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत धामी र सूचना प्रविधि अधिकृत भट्टलाई फोन गर्दा दुवै जना फिल्ड रहेको बताए। निमीत्त प्रमुख प्रशासकीय अधिकृत धामीले भने ‘आफू ग्रामीण जनस्रोत व्यवस्थापन परियोजनको बैठकमा वडा कार्यालयमा रहेका र गाउँपालिको कार्यालयमा कार्यालय सहयागी मात्र रहेको स्वीकार गरे।
सिगास गाउँपालिकको सबै वडामा सचिव र प्राविधिक इन्जिनियर पद लामो समयदेखि रिक्त छन्। लेखापाल बिदामा बसेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अवस्थीको भनाई छ।
कर्मचारी कार्यालयमा नभएको जानकारी पाएपछि टाढा–टाढाका सेवाग्राहीले निकै सास्ती खेप्नु परेको गाउँपालिको वडा १ बाट सेवा लिन आएका सेवाग्राही लोकेन्द्र बिष्टले गुनासो गरे। उनले भने, ‘स्थानीय तहको निर्वाचनपछि सेवा प्रवाहमा सजिलो होला भन्ने सोचेको झनै बढी दुःख दिने भए कर्मचारीले। कार्यालयमा कोही पनि छैन। एक सिफारिस बनाउन झन् गाह्रो भएको छ।
उता प्रदेशको स्थायी राजधानी धनगढी राजनीतिक भेटघाटमा रहेका गाउँपालिका अध्यक्ष हरिसिंह धामीले भने विशेष कामले प्रमुख प्रशासकीय अधिकृत धनगढी गएका बताए। अरु कर्मचारी वडामा बैठकमा गएका छन्। फिल्ड गएका कर्मचारी तत्काल गाउँपालिका जाने दाबी गरेका छन्।
गाउँपालिकाले आफ्नो अधिकारिक अनलाईन पोर्टलमा २ जना कर्मचारीको मात्र नाम, पदसहित उल्लेख गरेको छ। त्यसमा सरुवा भई आएको नाम र सरुवा भई गएको विवरण कुनै पनि अपडेट गरिएको उल्लेख छैन।
यो गाउँपालिका बझाङ, डोटी र डडेल्धुरा जिल्लासँग जोडिएको छ। भौगोलिक हिसाबले बैतडीको सबैभन्दा ठूलो गाउँपालिका हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।