काठमाडौं- भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नम्बरको बस भोजपुर नगरपालिकाको वडा नम्बर ३ र ४ को सिमानामा पर्ने चम्पिरे खोला नजिकै दुर्घटना भएको छ।
आइतबार बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घाइतेमध्ये ७ जनालाई अस्पताल भर्ना गरिएको प्रहरीको भनाइ छ। जसमा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ। गम्भीर घाइते हुनेमा सहचालक झापाका अर्जुन लिम्बू रहेको प्रहरीको भनाइ छ। लिम्बूको टाउकोलगायत विभिन्न ठाउँमा चोट लागेको छ। घाइतेहरुमा भोनपा-३ बस्ने २२ वर्षीया सङ्गीता प्रधान, २४ वर्षीया मनिषा श्रेष्ठ, १७ वर्षीया अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र सोही वडाका ११ वर्षीय बालक विवेक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
त्यस्तै इलाम घर भएका बसधनी ३५ वर्षीय अर्जुन लिम्बू, टेम्केमैयुङ गाउँपालिका–३ कि ५५ वर्षीया गङ्गादेवी राई, मोरङ घर भएकी २१ वर्षीया सविना गौतम भट्टराई र चालक इलाम घर भएका सन्तकुमार फागो सामान्य घाइते भएका छन्। घटनापश्चात् चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।