‘धेरैपटक फोनको प्रयास गरेँ, म्यासेज गरेँ। तर, लाग्दै-लाग्दैन। उताको अवस्था बुझौं भनेको। दाजुभाइहरू छन्। के भयो, थाहा छैन। निकै चिन्ता लागेको छ।’
काश्मिर श्रीनगरका तारिख अहमदको गुनासो हो यो। यो गुनासोमा परिवारप्रतिको अपनत्वमात्रै झल्किँदैन, त्यहाँको हालत सम्झेर उब्जिएको छटपटिको दृश्यसमेत स्पष्ट रुपमा अनुभूत गर्न सकिन्छ।
तारिख २६ वर्षदेखि ठमेलमा कपडा व्यवसाय गर्दै आएका छन्। तारिखका दाजुभाइ उतै छन्-काश्मिरमा। उनी अहिले आफन्त सम्झेर चिन्तित बनेका छन्। ‘भारत सरकारले कर्फ्यू लगाएको रैछ। फोन, इन्टरनेट सबै रोकिदिएछ,’ उनी उदास हुँदै भन्छन्।
जम्मू-काश्मीरलाई दिइएको विशेषाधिकारसम्बन्धी संवैधानिक व्यवस्था धारा ३७० खारेज गरिदिएपछि गत आइतबारदेखि भारत प्रशासित जम्मू-काश्मिर अशान्त छ। कर्फ्यूका कारण पूरा सडक शून्य छन्। सञ्चार र इन्टरनेट सेवा अवरुद्ध छ। सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ। काश्मीरका प्रभावशाली नेताहरू नजरबन्दमा छन्।
मुस्लिमहरूको विशेष चार्ड इद नजिकमा छ। तर, काश्मीरी जनताहरू (बहुसंख्यक मुस्लिमहरू) भने आफ्नै भूगोलमा पनि अलपत्रजस्तै छन्।
केही दिनदेखि आफन्तका खबर बुझ्न चाहिरहेका तारिखको प्रयास केवल असफल बनिरहेको छ।
000
ठमेलस्थित तारिखको पसलमा पुग्दा सुरुमा त उनले हामीलाई शंकालु नजरमा हेरे।
हामीले हाम्रो विश्वसनीयता पुष्टि गरेको लागेपछि मात्रै उनी कुरा गर्न राजी भए।
‘डरलाग्दो अवस्था छ। यहाँ इण्डियन सिआइडी पनि कति छन् कति,’ उनी सुरुवातमै केही सशंकित देखिए, ‘धेरै मान्छेले हामीलाई शंका पनि गर्नसक्छ। त्यसैले डर लाग्छ।’
यसबाट नेपलामा व्यवसाय गरेर बसेका काश्मीरीहरु पनि चिन्तित रहेको बुझ्न हामीलाई समय लागेन। केहीबेरमा उनी सामान्य हाउभाउमा प्रस्तुत भए र खुलेर कुरा गर्न थाले।
दशकौं भयो, काश्मीरले आनन्दको श्वास फेर्न पाएको छैन। सन् १९४७ मा विभाजनपछि नै भारत र पाकिस्तान काश्मीरलाई लिएर लगातार विवादमा छन्। जसले हरेक समय चर्किन्छ काश्मीरीको पीडा।
त्यही पीडाको एक साक्षी हुन् तारिख। २६ वर्षअघि उनी सोही पीडा बोकेर नेपाल छिरेका हुन्।
000
सन् १९९३। तारिख प्रेसमा काम गर्थे। आतंककारीहरू भूमिगत रुपमा सक्रिय थिए। सरकार पक्ष उतिकै विध्वंशक देखिन्थ्यो। दुवै पक्षको त्रास नागरिकमा उत्तिकै थियो।
श्रीनगरबाट निस्कने ‘श्रीनगर टाइम्स’को मार्केट हेर्थे उनी। तर, संक्रमणको समयमा संस्थाहरू बन्दजस्तै हुन्थे। व्यापार शून्य हुन्थ्यो। तारिखको जागिर पनि त्यही शून्यतामै बिलायो।
एकदिन यस्तो घटना घट्यो, जसबाट निकै झस्किए उनी।
साँझ ६ बजेको समय, तारिख प्रेसबाट घर फर्किंदै थिए। कर्फ्यू चलेको थियो। तर, उनको हातमा प्रेस कार्ड थियो। त्यसैले डर थिएन। उनी ढुक्क भएर घर हिँडिरहेका थिए। बाटोमा सेनाहरूले उनको बाटो रोकेर भने, ‘तपाईं कहाँ जाने?’
उनले कार्ड देखाउँदै भने, ‘म प्रेसबाट आएको मान्छे। काम सकेर घर जान लागेको।’
यति भनेपछि सेनाले सजिलै छोड्ला भन्ने ठानेका थिए उनले। तर, सेनाहरूले गम्भीर हुँदै भने, ‘यदि यहाँ कुनै दुर्घटना भयो भने हामी तपाईंलाई प्रेसको मान्छे भनेर सोच्दैनौं। सिधै गोली हान्छौं।’
यो भनाइले तारिखलाई तर्सायो। उनको हंसले ठाउँ छोड्यो। उनी अत्तालिँदै घरसम्म आए।
घटनाहरू बारम्बार घटिरहन्थे। कहिले आगलागी, कहिले विष्फोट त कहिले गोली प्रहार। यतिसम्म कि सुत्ने बेलामा फाइरिङका आवाजले मुटुमा ढ्यांग्रो ठटाउँथ्यो। बिहान उठ्न पाइन्छ कि पाइँदैन भन्ने डर भइरहन्थ्यो।
एकदिन मात्र होइन। निरन्तर यस्ता घटनाको साक्षी बस्दै काश्मीरको दैनिकी अघि बढिरहेको थियो।
एकदिन एक सरदारलाई आक्रमणकारीले पक्राउ गरी मारेछन्। उनी ‘भारतका लागि काम गर्छन्’ भन्ने आतंककारीहरूको बुझाइ रहेछ।
'कोहीसँग कुरा गर्न पनि डर हुन्थ्यो,' उनी भन्छन्, ‘घरबाट बिहान निस्केको मान्छे बेलुकी आउँछ आउँदैन निश्चित नहुने। त्यसमाथि युवाहरूलाई सरकार र आतंककारी दुवैबाट खतरा थियो।’
उनी काम छाडेर घरमै बसिरहेका थिए। त्यतिबेला अर्को घटना घट्यो, आतंककारीले विष्फोटक रकेट श्रीनगरमा प्रहार गरेछन्। त्यस घटनाले तारिखका बाआमालाई पनि झस्काएछ। उनीहरूले अतालिँदै तारिखलाई भनेछन्, ‘अब तँ यहाँ नबस्। अवस्था ठीक छैन।’
‘अब कहाँ जाने त?,’
तारिखलाई आफ्नो ठाउँ छाड्न मन थिएन। तर, बाँच्नु मुख्य कुरा थियो।
उनका दाइ काठमाडौंमा पसल गर्थे। त्यसपछि उनको गन्तव्य बन्यो- नेपाल।
सन् १९९३ मा नेपाल आएका उनी २६ वर्ष भयो यतै छन्, जहान र सन्तानसँगै। तारिख ५२ वर्षका भए। यी बीचमा काठमाडौंमै आएका अवरोधसँग पनि उनी जुधे। यहाँ पनि दुःख र अभाव भोगे। तर, यहाँ उनले जीवनकै सुन्दर कुरा पाए- स्वतन्त्रता।
नेपालमा आफ्नो व्यवसाय राम्रोसँग चलिरहेकै थियो। तर, २०५२ सालदेखि भने उनको व्यवसायमा ह्रास आयो। ‘त्यसबेलादेखि लामो समय नेपालमा जनयुद्ध चल्यो। जनयुद्धले पर्यटकहरू आउन छाडे। हाम्रो व्यापार/व्यवसाय नै शून्य बनाइदियो,’ उनले पुराना दिन सम्झिए।
जनयुद्धकै कारण लामो समय आर्थिक समस्याले सताएको उनको अनुभव छ।
जब जनयुद्ध सकियो, तब पर्यटकहरू नेपालमा आउने क्रम बढ्यो। उनको व्यवसाय पनि माथि उक्लियो। हाल उनी उनी पश्मिना, मेटलका सामानलगायत बिक्री गर्छन्।
000
नेपाल आएपछि उनी ८ पटक मात्र काश्मीर गएका छन्। तर, उतै गएर बस्ने योजना यो २६ वर्षमा कहिल्यै बुनेनन्।
काठमाडौंमा काश्मिरी जनताका धेरै पसल व्यवसाय छन्। जनयुद्धको समय कोही त फर्किएर काश्मीर नै गए। उतै व्यवसायको सुरुवात पनि गरे। तर, तारिख गएनन्, यहीँ अडिएर बसे। जानेहरू पनि कतिपय फेरि फर्कनु पर्यो। ‘त्यहाँ केही पनि गर्न सकिन्न। लगानी गर्नु बेकार छ,’ उनी भन्छन्।
२०७२ सालको भूकम्पको बेलामा भने १ महिना बसेर आएको उनले सुनाए। ‘त्यतिबेला यहाँ भूकम्पको डर थियो। नानूहरूको चिन्ता थियो,’ उनी सुनाउँछन्, ‘एक महिना बसेर फर्कियौँ।’
000
काठमाडौंमा बसे पनि तारिखको मन भने काश्मीरपट्टि गढेको हुन्छ। अहिले काश्मीर पीडामा हुँदा उनी पनि यहाँ शान्त छैनन्। छट्पटाइरहेका छन्। आफू नबसे पनि बस्नेहरूले शान्ति पाएको उनी सुन्न चाहन्छन्।
बिहीबार राष्ट्रको नाममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरे। ३८ मिनेटको सम्बोधनमा मोदीले आफूले अब जम्मू-काश्मीरको विकासलाई प्राथमिकता दिने र त्यसको खाका छिट्टै ल्याउने भन्दै आश्वस्त पार्न खोजे।
तर, मोदीको आश्वासनले तारिखलाई कुनै सन्तुष्टि दिएन। उनी झुटो मान्छन् मोदीको आश्वासन। भन्छन्, ‘मोदीले झुटा आश्वासन दिएका छन्। यसमा एक प्रतिशत पनि सच्चाइ छैन। व्यवहारिक छैन। यदि हुने भए हामी यसरी पिल्सिनुपर्ने थिएन।’
तारिखलाई चिन्ता लाग्छ, काश्मिरी नागरिकको। ‘ठूला राष्ट्रहरूको स्वार्थमा हामी पर्यौं,’ उनी पीडा पोख्छन्।
उनलाई पोलिरहने अर्को पीडा छ- आफ्नो र सन्तानको भविष्य।
‘अहिले त नेपालमा बसिरहौंला। भोलि यता बस्न दिइएन भने कहाँ गएर बस्ने? उता गएर बस्ने अवस्था छैन। हाम्रोभन्दा पनि सन्तानको पिर छ। उनीहरूको भविष्य के होला?,’ उनी गम्भीर देखिन्छन्।
‘हामीलाई कहिल्यै पनि भारत सरकारले आफ्नो नागरिक मानेन,’ उनको मुद्रा थप गम्भीर र आक्रोशित देखिन्छ, ‘एकदिन दूतावासमा छोरीको पासपोर्ट बनाउन जाँदा हामीलाई इण्डियन ठानेन दूतावासले। हाम्रो काम गरिदिएन।’
(मुल तस्बिर प्रतिकात्मक हो। तारिखले आफूलाई समस्या पर्ने बताएपछि हामीले उनको तस्बिर खुलाएका छैनौं।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।