भैरहवा- जिल्ला प्रशासन कार्यालय रुपन्देहीले साउन २१ गते नेपाली महिलाहरूको पर्व हरितालिका तीजलाई दृष्टिगत गरी एक सूचना जारी गर्यो । तीज पर्वलाई मौलिक, सांस्कृतिक, सभ्य, तडकभडकरहित र फजुल खर्च नगरी शान्तिपूर्ण तरिकाले मनाउनु पर्ने आशयसहित सूचना प्रशासनले जारी गरेको थियो।
उक्त सूचना हाल आएर विवादित बनेको छ। विगतका वर्षहरूमा तीज पर्वलाई भड्किलो रूपमा मनाउँदै आएपछि प्रशासनले उक्त कार्यलाई निरुत्साहित गर्न प्रशासनले सूचना जारी गरेको बताएको छ। मौलिक, सभ्य र शान्तिपूर्ण रुपमा मनाउन आग्रह गर्दै त्यसो नगरी तीजलाई भड्किलो र तडकभडक किसिमले होटल तथा पार्टी प्यालेसमा मनाए कारबाही गर्ने चेतावनी प्रशासनले दिएपछि सूचना विवादित बनेको हो।
सूचनाको विषयमा सामाजिक संजालमा पक्ष र विपक्षका मत सार्वजनिक भएका छन्। कसैले रुपन्देही प्रशासनको कदमलाई सही मान्दै स्वागत गरेका छन् भने कतिपयले प्रशासनको कडा आलोचना गरेका छन्।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा विगतमा जस्तो तीज आउनु एक महिना अघिदेखि नै फजुल खर्च गर्ने, तडकभडक, गरगहना प्रदर्शन, ध्वनि प्रदुषण हुने गरी होटल तथा पार्टी प्यालेसमा दर खाने कार्यक्रम राख्नाले तीज पर्वको मौलिकता हराउँदै गएको तथा सुरक्षा चुनौती बढेको उल्लेख छ। सामाजिक सद्भाव खल्बलिन गई विकृतिको रुप लिने उल्लेख गरेको छ प्रशासनले तीजको मौलिक परम्परामा आँच आउने गरी फजुल खर्च, भड्किलो र अस्वाभाविक तरिकाले कार्यक्रम हुने गरेकाले त्यस्ता कार्य नगर्न/नगराउनु भनिएको छ। कार्यक्रम गरेको पाइए कानुन बमोजिम कारवाही गरिने समेत प्रशासनले सूचना मार्फत जनाएको छ।

प्रशासनको सूचना आएको केही समयमै पत्रकार सम्झना शर्माले आफ्नो फेसबुकमा असन्तुष्टि जनाइन्। उनले आफ्नो फेसबुक स्टाटसमा लेखेकी छिन्, ‘दिनैपिच्छे होटेलमा छिरेर रक्सी खाने अनि राती अबेर हल्लिँदै घरमा पुगेर श्रीमती कुटपिट गर्नेलाई छुट, महिलाको एउटा पर्व तीजमा दर खान महिलालाई रोक अझ कारबाही रे। थुक्क सरकारका कारिन्दा।’

यस्तै अर्की पत्रकार अमृता अनमोलले पनि सूचनाबारे असन्तुष्टि पोख्दै लेखेकी छन्, ‘हेलो प्रशासन! ‘सक्ने भए दिनँहु भट्टीमा रक्सी धोक्ने, क्सासिनो र डान्सबारमा पैसा उडाउने दोहोरीमा रमाएर घरकी श्रीमतीलाई कुट्ने विरुद्ध कारबाही गर्नुस्। तीजमा दर खाने र गीत गाउनेलेलाई होइन। साउने संक्रान्तिदेखि तीजका गीत गाउने संस्कृति हो। विकृति होइन। पहिले घरका आँगन र चौतारीमा गाइन्थ्यो। बजारमा त्यो सम्भव छैन। पाटी प्यालेस नगए प्रशासनको आँगनमा जानु त...।’

महिला अधिकारकर्मी ज्ञानु पौडेलले पनि प्रशासनले जारी सूचनाका विषयमा फेसबुकमा प्रश्न गर्दै लेखेकी छन्, 'फजुल खर्च कता कता भएको छ केही आधार अध्ययन छ? अनुमानको आधारमा नियन्त्रण र कारबाहीको धम्की दिन मिल्छ? तीज पर्वलाई मर्यादित व्यवस्थित र संस्कृति बचाउने तिर पो नागरिकलाई सचेत पार्ने हो, यो बहानामा प्रशासनले के गर्न खोजेको हो? अब महिलाले होटल जान खाना खान नि सोध्नुपर्ने, अनुमति लिनु पर्ने? विवाहमा फजुल खर्च अनि दाईजो, लैंगिक हिंसा नियन्त्रण, बालविवाह न्यूनीकरण तिर प्रशासनको र नीति निर्माणकर्ताको सक्रियता खै त?
यता पत्रकार टोपराज शर्माले भने प्रशासनको कदम उचित रहेको धारणा व्यक्त गरेका छन्। उनले लेखेका छन्, 'तीजको दर तीजको एक दिनअघि माइतीघरमा खाने हो। अपवाद बाहेक सबै नारीका माइती छन् भलै शहरमा घर नभएकाको फ्ल्याट वा कोठा त अवश्यै छ। छोरीचेलीको साँचो माया भएकाले आफ्नै घरमा बोलाएर दर खुवाउने मौलिक परम्परा हो। होटल र पार्टी प्यालेसमा दर खुवाउन र खान पाउनुपर्छ भन्नु मौलिक संस्कृति, परम्परा र पहिचान विरुद्धको व्यापारिक उद्देश्यको उत्ताउलो र भड्किलो आडम्बर मात्रै हो। त्यसैले मौलिक संस्कृति र परम्परामा व्यापार बन्द गरौँ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीले भरत शर्माले प्रशासनले तीज मनाउन अंकुश लगाएको जस्ता भ्रामक विषय बाहिर आएपनि त्यस्तो कुनै कार्य प्रशासनबाट नभएको र नहुने उल्लेख गरे। उनले तिज पर्वलाई तडकभडक नदेखाई मौलिक पर्वका रूपमा मनाउन प्रशासनले आग्रह मात्र गरेको बताए।
यसैबीच नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघ र रुपन्देही मिष्ठान्न तथा क्याटरिङ व्यवसायी संघले प्रशासनको सूचनाको विरोध गरेका छन्। उनीहरूले बुटवलमा पत्रकार सम्मेलन गरेर तीज कार्यक्रम होटल र पार्टी प्यालेसम गर्न नपाइने निर्णय प्रशासनलाई सच्याउन माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।