बुटवल- प्रदेश ५ को राजधानी रुपन्देहीमा महिला तथा बालबालिका सम्बन्धी अपराधका घटनामा वृद्धि हुँदै गएको छ। रुपन्देहीमा पछिल्लो ३ वर्षमा महिला तथा बालबालिकाका हिंसा तथा अपराधका घटनामा क्रमश: वृद्धि हुँदै गएको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उपलब्ध गराएको विगत ३ वर्षको तथ्यांकले जिल्लामा हरेक वर्ष अपराधका घटनामा वृद्धि भएको देखाएको छ।
प्रहरीको तथ्यांकमा आर्थिक वर्ष २०७३/७४ मा ५ सय ३७ वटा महिला तथा बालबालिका सम्बन्धी घटना प्रहरीमा दर्ता भएको देखिन्छ भने आर्थिक वर्ष २०७४/७५ मा ५ सय ८३ घटना दर्ता भएका छन्। आर्थिक वर्ष २०७५/७६ मा संख्या वृद्धि भएर ६ सय ९७ वटा महिला तथा बालबालिका सम्बन्धी विभिन्न अपराधका घटना दर्ता भएको प्रहरीले जनाएको छ।
आर्थिक वर्ष ०७५/७६मा जिल्लामा प्रहरीमा परेका उजुरीका आधारमा जबरजस्ती करणी ७०, मानव बेचिबखन तथा ओसारपसार १७, जबरजस्ती करणी उद्योग ३२, बहुविवाहका ४३, बालविवाह १, कर्तव्य ज्यान ३, फुटकर ज्यान ११, भवितव्य ज्यानका ३१ वटा घटना भएका छन्।
त्यस्तै झुन्डिएर आत्महत्या ५५, विष सेवन गरी आत्महत्या २५, आगो लगाएर आत्महत्या ३ वटा मुद्दा दर्ता भएका छन्। त्यसैगरी ज्यान मार्ने उद्योगग २, कुटिपट अंगभंग १, बोक्सी आरोप १, जातीय भेदभाव १, केही सार्वजिनक अपराध ५ र घरेलु हिंसा ४ सय २९ वटा भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए।
त्यस्तै जिल्लामा एक वर्षयता महिला ३ सय २०, बालक ६६ र बालिका १ सय ४१ गरी ५ सय २७ जना हराएकोमा ४ सय ३९ जना फेला परेको पनि प्रहरीले जनाएको छ।
यसरी हराउने संख्या पनि हरेक वर्ष वृद्धि हुँदै गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आर्थिक वर्ष २०७३/७४मा जिल्लामा १ सय ८९ महिला, ३० बालक र ७९ बालिका गरी २ सय ९८ जना हराएकोमा १ सय ५६ जना भेटिएका थिए।
त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा १ सय ८१ महिला, २० बालक र ७१ बालिका गरी २ सय ७२ जना हराएकोमा २ सय ६३ जना भेटिएका थिए। प्रहरीले बितेको आर्थिक वर्षमा ४४ महिला, ५ बालक र ४ बालिका गरी ५३ जनालाई भारतबाट उद्धार गरेको उल्लेख गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा १ हजार ६ सय ५२ वटा मुद्दा दर्ता गरेकोमा आर्थिक वर्ष २०७५/७६ मा १ हजार ८ सय ३७ वटा मुद्दा दर्ता गरेको जनाएको छ।
प्रहरीले दर्ता गरेको मुद्दामध्ये ३ सय ७१ वटा लागुऔषधका मात्र रहेका छन्। लागुऔषधमा ३२ महिलासहित ५ सय २१ जनालाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ। यसले पनि जिल्लामा लागुऔषधको अवस्था विकराल भएको पुष्टि गर्दछ। (प्रतीकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।