डडेल्धुरा- सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरको गुरुयोजना निर्माण गरी भौतिक पूर्वाधार निर्माणको प्रक्रिया थालिएको छ। उग्रतारा क्षेत्रको समग्र विकासका लागि गुरुयोजना निर्माण गरिएको हो।
८ वर्षीय आफ्नो कार्यकालमा गरिएका कामबारे जानकारी दिँदै उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साँकीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सांसद विकास कोष र पर्यटन कार्यालय नेपालगन्जको संयुक्त रकमले गुरुयोजना निर्माण गरिएको बताए। उनले भने, 'उग्रतारा क्षेत्र विकास समितीले म अध्यक्ष भएपछि भौतिक निमार्णमा जोड दिएको छु। पहिले गुरुहरु बस्ने घर, प्रवचन भवन थिएनन्।'
गुरुयोजना अनुसार भवन निर्माण गरी मन्दिर परिसरमा वेदविद्याश्रम र गौशाला सञ्चालनमा रहेको उनले बताए। पर्यटन कार्यालय नेपालगन्जको बजेटले खुल्ला रहेको मन्दिर परिसर घेरबार गरी खुल्ला चरिचरन बन्द गरिएको अध्यक्ष साँकीको भनाइ छ।
१ सय ८ भागवत पूजाबाट संकलित ६५ लाख रुपैयाँबाट मन्दिरमा करिब तीन सय जना अटाउने क्षमताको प्रवचन हल निर्माण गरिएको छ। ‘३० लाख लगामीमा मन्दिर तल रहेको पानिको मुहान ऐतिहासिक नौला जाने बाटो र पिकनिकका लागी जस्ताले छाएका तीन वटा घर निर्माण गरिएका छन्,’ उनले भने, ‘यसले पानी भर्न, स्नान गर्न जाने भक्तजनसँगै पिकनिक गर्न आउने आस्थावानहरुलाई निकै सहयोग पुगेको छ।’
यससँगै आफ्नो कार्यकालमा ६ लाखको अक्षय कोष स्थापना गरिएको अध्यक्ष साँकीले जानकारी दिए। कृषि विकास बैंकमा खाता खोली श्रद्धालुभक्तजन आस्थावानहरुको आर्थिक सहयोगमा अक्षय कोष स्थापना भएको बताउँदै उनले अहिले एक वर्षमा ६ हजार ५ सय रुपैयाँ ब्याज प्राप्त भएको जानकारी गराए।
सहरी विकास कार्यालय डोटी र अमरगढी नगरपालिकाको सहयोगमा मन्दिर परिसरमा ९ वटा सोलार बत्ती जडान गरिएका छन् भने समितिको आन्तरिक आमदानीबाट सिसी क्यामेरा जडान गरी सञ्चालनमा आएको अध्यक्ष साँकीले बताए।
२०६४ सालसम्म मन्दिरमा ४ आना मात्रै सुन रहेको थियो। उनका अनुसार अहिले साढे ७ तोलाका गहना रहेका छन्। साथै समितिका कानुनी सल्लाहकारको सहयोगमा उग्रतारा मन्दिर क्षेत्रको १ सय ७७ रोपनी जमिन दर्ता गर्न गुठी संस्थानले सर्त आदेश गरी मालपोत कार्यालयमा पठाइएको छ। २०३३/३४ सालको सर्वे नापीमा फिल्ड बुक कायम रहेको छ।
अहिले मालपोत कार्यालयले नापी विभागबाट आदेश माग गरेको छ। आदेश आउनेबित्तिकै जमिन उग्रतारा माताको नाममा दर्ता भइ लालपुर्जा प्राप्त गर्ने अध्यक्ष साँकीले बताए।
९ भगवतीका मन्दिरमध्ये एक ‘उग्रतारा’
उग्रतारा भगवती मन्दिर सुदूरपश्चिम प्रदेशकै ठूलो तथा प्रसिद्ध शक्तिपीठ मानिन्छ। यो मन्दिर डडेल्धुरा सदरमुकाम बागजारदेखि करिब ५ किलोमिटर पश्चिमपट्टी रहेको छ। यो मन्दिरलाई नेपालको सूदूरपश्चिमका ९ भगवतीहरुका मन्दिरहरूमा एक मन्दिर मानिन्छ।
उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ। उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन। तर, पनि उग्रतारा भगवती मन्दिरो उत्पतिको किंवदन्ती भने रोचक रहेको छ।
डडेल्धुराको अमरगढी नगरपालिका–८ मा पर्ने प्रसिद्ध यो मन्दिर सदरमुकामबाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमपट्टिको अग्लो विशाल तथा रमणीय फाँटमा अवस्थित छ।
उग्रतारा देवीको दर्शन गर्न जाने भक्तजनहरुले अमरगढी–८ को टाटेसिल्ङबाट उक्लेर जानुपर्दछ। अहिले उग्रतारा मन्दिरसम्म पुग्न अमरगढी ८ को डकले र रातागौनबाट कालोपत्रे सडक पनि निर्माण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।