पाल्पा- तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय एक शिक्षकको भरमा सञ्चालनमा छ। यहाँ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ।
विद्यालयमा महिनाभरिमा दश दिनमात्र पढाइ हुने गरेको छ। अरु दिन विद्यालय खोल्ने र बन्द गर्ने मात्र काम हुन्छ। चालु शैक्षिक सत्रमा ६ जना विद्यार्थी विद्यालयमा भर्ना भएका छन्। उनीहरूमध्ये चार विद्यार्थी एकै परिवारका तथा बाँकी दुई छुट्टाछुट्टै परिवारका हुन्। विद्यार्थी नियमित नआउँदा दश दिनभन्दा बढी पढाइ नहुने सो विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ढकाल बताउँछन्। 'बस्ती पातलिँदै गएको छ, गरिब तथा विपन्न परिवारको मात्र बसोबास छ, विद्यालय जानुपर्छ भन्ने मानसिकता अभिभावक र विद्यार्थीमा छैन', उनले भने। विद्यालय जानेभन्दा उनीहरू दाउरा खोजेर सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा आसपासका होटलमा बिक्री गर्न जाने गरेका छन्।
विद्यार्थी संख्या घटदै गएपछि तथा विद्यार्थी नियमित विद्यालय आउन छाडेपछि सहायक प्रधानाध्यापकका रुपमा कार्यरत दामोदर घिमिरेले वैशाख २१ गते राजीनामा दिए। अहिले प्रधानाध्यापक ढकाल एक्लैले विद्यालय चलाएका छन्। उनी पनि राजीनामा दिने तयारीमा छन्। ढकालले २०६१ जेठ १ देखि विद्यालयमा पढाउँदै आएका हुन्। 'भदौ १ गतेदेखि स्थानान्तरणको प्रक्रिया अगाडि नबढे राजीनामा दिने सोच बनाएको छु', उनले भने। विद्यालयमा एक जना कार्यालय सहयोगी पनि छन्।
हाल कक्षा १ मा एक, कक्षा २ मा दुई र कक्षा ३ मा तीन विद्यार्थी अध्ययनरत छन्। उनीहरू सबैलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ। विद्यालयमा कार्यालयसहित चार कोठा छन्। भौतिक पूर्वाधारको समस्या छैन।
विद्यालय बेँशीमा सञ्चालन गर्न सके विद्यार्थी सङ्ख्या बढ्ने देखिन्छ। विद्यालय स्थानान्तरणका लागि सरोकारवाला निकायले चासो दिएको पाइँदैन। गत वर्ष यहाँ तीन शिक्षक कार्यरत थिए।
विद्यार्थी न्यून भएपछि सहायक प्रअ र निजी स्रोतका शिक्षकले राजीनामा दिएका हुन्। गत शैक्षिक सत्रमा १० विद्यार्थी भर्ना भएका थिए। गाउँबाट बसाइँसराइ गरेर अन्यत्र जाने क्रम बढेकाले ग्रामीण भेगका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले बताए।
'न्यून विद्यार्थी भएका विद्यालयलाई नजिक पायक पर्ने विद्यालयमा समायोजना गरेर वा स्थानान्तरण गरेर सञ्चालन गर्न सकिन्छ', उनले भने। अभिभावकको जोड सकेसम्म आफ्ना नानीहरूलाई घाँसपात, मेलापात र घरधन्दामै लगाउन पाए हुन्थ्यो भन्नेमा छ। अभिभावकसँगै जङ्गलमा दाउरा खोज्ने र राजमार्गका छेउछाउका होटलमा बिक्री गर्नमै उनीहरू व्यस्त रहेको पाइन्छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।