राजविराज- नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष राजकुमार लेखीले आदिवासी/जनजाती, मधेशी, दलित र पछाडि पारिएका वर्गको अधिकार रक्षाका लागि थप व्यवस्था नगरे वर्तमान संविधान १० वर्ष पनि नटिक्ने दाबी गरेका छन्।
सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौनामा नेपाल आदिवासी जनजाती महासंघ र आदीबासी जनजाती पत्रकार संघ सप्तरीले संयुक्त रुपमा आयोजना गरेको ‘लोक सेवा आयोगको असंवैधानिक व्यवस्था र मिडियामा समावेसी अवस्था’ विषयको अन्तर्क्रिया कार्यक्रममा लेखीले यस्तो दाबी गरेका हुन्।
‘मुलकको राज्य सत्ता वर्षौंदेखि सीमित वर्ग र समुदायको कब्जामा छ। त्यस बाहेकका वर्ग र समुदाय अहिले पनि अधिकारबिहीन अवस्थामा छन्,’ उनले भने, ‘अब पनि त्यो व्यवस्थाको अन्त्य नभए अधिकार बिहीनहरूले विद्रोह गर्नेछन् र संविधानलाई अस्वीकार गर्ने दिशामा अघि बढ्छन्।’
यथास्थितिमै संविधान कार्यान्वय गर्न खोजे दश वर्ष पनि नटिक्ने उनको दाबी छ। ‘संविधान जुन हिसाबले तयार गरिएको छ, त्यसले कार्यान्वयन प्रकृयामा जटिलता थपेको छ,’ उनले भने, ‘अब कि त पाखा लगाइएकाहरूलाई यही संविधानमा स्थान दिइन्छ। यात संविधान नै खारेज हुने अवस्था आउँछ।’
आदिबासी जनजाति पत्रकार संघको २०औं स्थापना दिवस तथा २५औं विश्व आदिवासी दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।