काठमाडौं- निजामति कर्मचारीहरुले सरोकारवाला निकायसँग छलफल नै नगरिए ल्याइएको 'संघीय निजामति सेवा ऐन' नमान्ने चेतावनी दिएका छन्।
शुक्रबार रिपोर्टर्स् क्लबको साक्षात्कारमा बोल्दै निर्मचारी कर्मचारी संगठनका प्रमुखहरुले सरोकारवालाले दिएको सल्लाह-सुझावलाई आत्मसाथ गर्नुको सट्टा मनोबल गिराउने काम भएको भन्दै आक्रोश पोखे।
नेपाल निजामती कर्मचारी संगठनका कार्यबाहक अध्यक्ष लेखनाथ कोइरालाले ऐन बनाउँदा सरोकारवाला पक्षसँग छलफल नगरेकोमा आक्रोश व्यक्त गरे। विधेयकमा गरिएको सामूहिक राजीनामाको व्यवस्था सम्बन्धमा उनले कसैको लहड र आक्रोशका विषयमा ऐन बन्न नसक्ने दाबी गरे।
उनले भने, 'यो बोल्न सजिलो हुन्छ तर कार्यान्वयन गर्न सजिलो छैन। २५ जना एनेस्थेसिया डाक्टरहरुले एकैपटक राजीनामा दिए भने कुनै पनि शल्यक्रिया हुन सक्दैन। यसो हुँदा दिनमा कति मान्छे मर्छन्? राष्ट्रसेवक र ट्रेड युनियन भनेका मन्त्री र सचिवका चाकडी गर्ने संस्था हुन् भनेर कसैले नठानोस्। ट्रेड युनियन भनेका अरिंगाल हुन् विष निस्कन्छ। मौरी हुन् मह निस्कन्छ। मन्त्रालय र राज्यव्यवस्था समिति के चाहन्छ? विष निकाल्न चाहन्छन् वा मह निकाल्न चाहन्छन्?'
सही अर्थमा राम्रो काम गर्ने भए सरुवालाई पारदर्शी र चक्रिय बनाउन उनले सुझाव दिए।
कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सामूहिक राजीनामाको कुराले थप उत्तेजित र आतंकित बनाउने काम गरेको टिप्पणी गरे। समायोजनमा गएका कर्मचारीहरुलाई हाजिर गर्न नदिएर बिच्चलीमा पार्ने काम भएको उल्लेख गर्दे उनले आफूहरुको संयमतता र धैर्यतालाई कमजोरीको रुपमा नलिन चेतावनी दिए।
नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले संघीय निजामती सेवा ऐन बनाउने प्रक्रियामा आफ्नो संगठनको आपत्ति र असहमति रहेको बताए। उनले कर्मचारीहरुको वास्तविक पीरमर्का सम्बोधन गर्ने काम नभए सरकार स्वयम् असफलताको बाटोमा अघि बढ्ने चेतावनी दिए।
नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि बहादुर रावलले सरोकारवाला पक्षसँग छलफल बिना ल्याइएकाले संघीय निजामति सेवा ऐन आफूहरुलाई मान्य नहुने चेतावनी दिए। उनले कर्मचारीको भूमिकालाई नजरअन्दाज नगर्न पनि सरकारलाई सचेत गराए।
राज्यव्यवस्था समितिबाट हालै पारित निजामति सेवा ऐनमा राखिएको सामूहिक राजीनामालगायतका विषयमा कर्मचारी संगठनहरुले तीब्र विरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।