धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालमा प्रदान गरिने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। प्रदेश सरकारको साउन ८ गते बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट प्रदेशका महत्वपूर्ण पर्वहरुमा सार्वजनिक बिदा दिने भन्ने निर्णय गरेको थियो।
प्रदेश सरकारले सार्वजनिक गरेको बिदा सूचीमा साउन ३० गते रक्षा बन्धन, भदौ १५ गते अँटवारी पर्व, पुस १० गते भुँवा पर्व र माघ १ गते माघे सक्रान्ति मात्र परेका छन्।
प्रदेश सरकारको बिदा सूची सार्वजनिक भएसँगै यस क्षेत्रका नागरिकहरुले प्रदेशका केही महत्वपूर्ण पर्वहरुलाई समेट्न नसकेको भन्दै असन्तुष्टी पोखेका छन्।
कैलाली जनपुस्तकालयका अध्यक्ष एवम् त्रिवि उपप्राध्यापक डा टिएन जोशीले प्रदेश सरकारको निर्णयप्रति फरक मत राख्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुदूरपश्चिम सरकारले ‘गौरा पर्व’लाई सम्बोधन किन गरेन? भदौ १ को ‘ओल्के’ पनि समेटिएन। गौरा पर्वमा बिदा नदिएर ‘भुवो पर्व’मा बिदा दिन सुहाएन कि?’
यस प्रदेशलाई नेपालभरनै परिचित गराउने मुख्य पर्वका रुपमा गौरा पर्वलाई लिइने गरिन्छ। प्रदेश सरकारले यस पर्वमा बिदा नदिइएपछि यसको विरोधमा आवाज उठेको हो।
जोशीले विगतमा संघीय सरकारले समेत गौरा पर्वमा सार्वजनिक बिदा दिँदै आएकोमा प्रदेश सरकारले बिदा नदिनु दुःखद पक्ष भएको जनाउँदै निर्णय सच्याउन सरकारसँग आग्रह गरे।
यस्तै, प्रदेश सरकारले थारुहरुको प्रमुख पर्व माघीमा एक दिनमात्र बिदा दिने निर्णय पनि स्वागत योग्य नरहेको बताइएको छ। थारु अगुवाहरुले माघीमा तीन दिन बिदाको माग गर्दै आएका छन्।
प्रदेश सरकारले गएको माघीमा एक दिनमात्र बिदा दिने निर्णय गरेपछि थारु समुदायहरुले सरकारको निर्णयप्रति आपत्ति जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।