काठमाडौं- सत्तारुढ नपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरी कक्षा ११ मा भर्ना भएकी छिन्। उनले कक्षा ११ को अध्ययनका लागि सरकारी विद्यालय रोजेकी हुन्।
प्रतिनिधिसभामा नेकपाकी सचेतकसमेत रहेकी चौधरीले फेसबुकमा एक स्टटास लेख्दै आफू नयाँ बानेश्वरस्थित रत्नराज्य माविमा मानविकी संकाय अध्ययनका लागि भर्ना भएको जनाएकी हुन्।
उनले स्टाटसमा ढिलो गरी क्याम्पस पढ्न पाएकोमा केही दुःखेसो समेत पोखेकी छिन्। सांसद चौधरीले आफूलाइ यहाँसम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन्।
यस्तो छ उनको स्टाटसः
प्रायः कक्षा ११ मा भर्ना हुने १५/१६ वर्षको उमेरमा हो। तर त्यो उमेरमा परिस्थितिले मलाई झोला बोकेर कलेज जानेहरुलाई टुलुटुलु हेरेर बस्ने बनायो, मुटु समातेर धरधरी रुने बनायो।
आज मात्रै नयाँ बानेश्वरस्थित रत्नराज्य माविको मानविकी संकायमा भर्ना भएको छु।
दु:खको सागर पौडिँदै गरेको मान्छे म, त्यही सागरबाट उतारेर मलाई संसार बुझ्न सक्ने र बिस्तारै मनभित्रका रहरहरु पूरा गर्न वातावरण निर्माण गरिदिने मेरो पार्टी तत्कालीन नेकपा(एमाले) अर्थात् हालको नेकपालाई हार्दिक धन्यवाद छ।
हृदयदेखि नै धन्यवाद छ अग्रज नेताहरुलाई, शुभेच्छुक साथीहरूलाई, आफन्तजनहरुलाई र शिक्षाको ज्योति दिएर बाटो देखाउँदै गर्नुहुने आदरणीय व्यक्तित्वहरुलाई।
इच्छा मेरो, साथ तपाईंहरुको। तत्परता मेरो, प्रेरणा तपाईंहरुको। गुन तिर्न नसकुँला तर अन्तिम स्वाससम्म सम्झिरहने छु तपाईंहरुको साथलाई र भनिरहने छु 'आभारी छु'।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।