प्युठान- सरुमारानी गाउँपालिका ४ को ऐरावती बहुद्देश्यीय सानाकिसान सहकारी संस्थामा चोरी भएको छ।
गएराति मुलगेट र भित्री गेटको ढोकाको ताला फोरेर सेफमा राखिएको किरब साढे ११ लाख रुपैयाँ चोरी गरिएको हो। शुक्रबार बिहान कार्यालय खोल्न पुगेका सहकारीका व्यवस्थापक रेवतप्रसाद खनालले मुख्य गेट नै तोडिएको पाइएपछि आफूले प्रहरीलाई खबर गरेको बताए।
'बिहान कार्यालय खोल्न आउँदा मुलगेट र भित्री कोठाको ढोकाको ताला फोरिएको थियो, त्यसपछि मैले स्थानीय र प्रहरीलाई खबर गरेँ,’ उनले भने, 'सेफ फोरेर ११ लाख ४५ हजार ६ सय ७५ रुपैयाँ चोरी भएको रहेछ।’
बिहीबार हिसाबकिताब गरी पैसा सेफमा राखेर आफू कार्यालयबाट निस्किएको उनले बताए।
कार्यालयको मुलगेट र भित्री कोठाको ताला तोडिएको र पैसा राखिएको सेफ फोरिएको पाइएको अस्थायी प्रहरी पोस्ट बड्डडाँडाका इन्चार्ज प्रेमबहादुर विकले जानकारी दिए। ‘जुन ठाउँ सेफ राखिएको छ। त्यो ठाउँबाट पैसा मात्र झिकिएको पाइएको छ,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।