काठमाडौं- नेपालगञ्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरूमा बिहीबार मध्यरातमा आगलागी भएको छ। गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन्।
राति ११ बजेबाट सुरु भएको आगलागी २ बजेतिर नियन्त्रणमा आएको थियो।
प्रत्यक्षदर्शी सरोजकुमार चन्दका अनुसार नेपालगञ्जका दुई, कोहलपुरको एक र नेपालगञ्ज विमानस्थलमा रहेको एक गरी चार दमकललाई आगलागी नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो।
'फर्निचर पसल रहेकाले आगो नियन्त्रणमा आउन गाह्रो भएको थियो,' प्रत्यक्षदर्शी चन्दले भने। चार दमकलसहित प्रहरीले करिब तीन घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो।
आगलागीबाट करिब रु सातदेखि १० करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। तर, क्षतिको एकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए। 'दर्जन बढी फर्निचर पसल जलेका छन्, अध्ययन नगरेरै वास्तविक क्षति कति भएको छ भन्ने थाहा हुँदैन, हामीले अहिले अनुमान मात्रै गरेका छौँ', प्रहरी उपरीक्षक वलीले भने।
फर्निचर पसलमा आगलागी भएपछि विपीचोक नजिकै घना बस्तीका बीचमा रहेको पेट्रोलपम्पमा आगलागी हुनबाट भने जोगाइएको छ। 'पेट्रोलपम्पमा आलागी भएको भए नेपालगञ्जमा ठूलो विनाश निम्तिने थियो,' प्रहरी उपरीक्षक ओलीले भने, 'पम्पमा आगलागी हुन नदिन हामीले गरेको निरन्तर प्रयास सफल भयो। यसबाट पेट्रोलपम्पका साथै घना बस्ती ठूलो जोखिमबाट बचेको छ। हामीले ठूलो विनाशलाई टारेका छौँ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।