राजविराज- सरकारले ‘नमूना विद्यालय निर्माण’ योजना अन्तर्गत सुरु गरेको सप्तरीको बोदेबरसाइन नगरपालिका-५ स्थित चन्द्रा नमूना माध्यमिक विद्यालयको भवन निर्माणको काममा स्थानीयवासीले अवरोध गरेका छन्।
विशेष प्राथमिक्तामा परेको ‘नमूना विद्यालय निर्माण’ को काम प्रारम्भिक चरणमै गुणस्तरहीन भएको उनीहरूको आरोप छ। भुकम्परहित भवन निर्माणको काममा छड र सिमेन्टको ल्याब परीक्षण नगरिएको तथा मापदण्ड विपरीतको गिट्टी प्रयोग गरिएको स्थानीयबासी तथा भ्रष्टाचार विरुद्धको संघर्ष समितिका संयोजक इन्जिनियर आलोक कुमार यादवले बताए।
‘भवनको भुई तला ढलानको काम सुरु भएको छ। तर, प्राविधिक रुपमा पूरा गर्नु पर्ने सामान्य प्रक्रिया समेत वेवास्ता गरिएको छ,’उनले भने,‘मापदण्ड अनुसार ढलानका लागि क्रसरमा फुटाएको गिट्टी प्रयोग गर्नु पर्ने थियो। तर, प्रयोग नै गर्न नमिल्ने गिट्टी जबरजस्ति प्रयोग गरिँदैछ।’ गिट्टीको आकार तथा सिमेन्ट र बालुवाको मिश्रण नमिलाए जग नै कमजोर हुने भएकाले आफुहरुले काममा अवरोध गरेको यादवले बताए।
मापदण्ड विपरीत भवन निर्माण हुन थालेपछि आफूहरूले स्टिमेट माग्दा नदिएको र निर्माण स्थलमा योजनाको सूचना बोर्ड समेत नराखिएको उनले गुनासो गरे।
विद्यालयका प्रधानाध्यापक गौरीशंकर चौधरीले निर्माण कार्यमा सामान्य त्रुटि भएको स्वीकार्दै त्यसलाई सच्याएर जाने बताएका छन्। ‘छड र सिमेन्टको पनि ल्याब टेस्ट हुन्छ भन्ने मलाई जानकारी थिएन। यसमा त्रुटि भएकै हो,’ उनले भने,‘ढलानमा प्रयोग गरिने गिट्टी पनि क्रसरको र ८० एमएमभन्दा सानो हुनुपर्ने रहेछ। नबुझेर केही कमजोरी भएका छन्। त्यसलाई हामी सच्याउँछौं।’
निर्माणस्थलमा सूचना बोर्ड राख्ने विषयमा पनि आफूले पहल गर्ने उनले प्रतिबद्धता जनाए।
यस्तो बन्दैछ भवन
सरकारले चन्द्रा माविलाई नमूना विद्यालयका रूपमा विकास गर्न करिब १ अर्बको पञ्चवर्षीय योजना संचालन गरेको छ। नमूना विद्यालय व्यवस्थापन निर्देशिका अनुसार भूकम्प प्रतिरोधी, अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण गरिनेछ।
चन्द्रा माविमा तीन तलाको ९ कोठे भवन निर्माण गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सामुदायिक विद्यालय व्यवस्थापन महाशाखा मार्फत सरकारले हरेक वर्ष बजेट छुट्याउने गरेको छ।

आव ०७५/०७६ मा २८ लाख ५० हजार र अघिल्लो आर्थिक वर्ष १ करोड ५० लाख वजेट उपलब्ध गराइएको थियो। त्यस मध्ये डिपिआर र नक्सा तयार गर्न लागेको ६ लाख रुपैयाँ कटाएर बाँकी रकम विद्यालयमा आएको प्रअ चौधरीले जनाए।
निर्देशिका अनुसार प्रशासनिक भवन, शिक्षण भवन, छात्रावास, ल्याब, पुस्तकालय, सभा हल, छात्रा तथा अपाङ्गतामैत्री शौचालय, संग्रहालयलगायतका छुट्टाछुट्टै संरचना तयार हुने उनले जानकारी दिए।
निर्माण समितिमार्फत् काम
निर्देशिका अनुसार भवन निर्माणको काम ठेक्का प्रक्रिया मार्फत गर्नु पर्ने भएपनि समय अभावका कारण निर्माण समिति मार्फत सुरु गरिएको प्रअ चौधरीले बताए। ‘मावि तहको शिक्षा सम्बन्धी सम्पूर्ण काम स्थानीय तहले नै हेर्छ। शिक्षा विभागको निर्देशनअनुसार विद्यालयलाई प्राप्त रकम हामीले नगरपालिकाको खातामा हाल्यौं,’उनले भने,‘तर, नगरपालिकाले पैसा दिन ढिला गरेकाले प्रकृया पनि ढिलै सुरु भयो।’
ठेक्काको प्रक्रिया पूरा गर्दा समय धेरै लाग्ने र अनुदान रकम फ्रिज हुने भएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मृगेन्द्रकुमार सिंह यादवकै संयोजकत्वमा निर्माण समिति तयार गरी काम सुरु गरेको उनले जानकारी दिए। संयोजक यादव माधव नेपाल नेतृत्वको सरकारमा कृषिमन्त्री समेत थिए।
‘नगरपालिकाबाट विद्यालयको खातामा पैसा आउन ढिलो भएपछि हामीले जेष्ठ अन्तिम साता विद्यालयकै पैसा लगाएर काम सुरु गर्यौ,’उनले भने,‘असार २० गते विद्यालयको खातामा आएको पैसा पनि रोक्का राखिएको छ। विद्यालयकै पैसाले काम गरिरहेका छौं।’
विद्यालय व्यवस्थापन समितिका सदस्य अनिल सिंहले पनि समय अभावका कारण विधि र प्रक्रियाभन्दा पनि व्यवहारिकता हेरेर निर्माण समिति मार्फत काम गरिएको बताए।
सप्तरीमा ४ विद्यालय नमूना बन्दै
सरकारी योजना अनुसार सप्तरीका ४ वटा विद्यालय नमूना विद्यालयको रुपमा छनौट भएका छन्। बोदे बरसाइनको चन्द्रा मावि, डाकनेश्वरी नगरपालिका पातोस्थित कन्तचन्द्र मावि र शम्भुनाथ नगरपालिकाको भगवतपुर स्थित वुद्धिलाल मुनर मावि नमूना विद्यालयको रुपमा छनौट भएका छन्।
यसैगरी पछिल्लो पटक आव ०७५/०७६ मा अग्निसाईर कृष्णासवरण गाउँपालिकाको प्रशवनीस्थित महिकर मावि पनि नमूना विद्यालयको रुपमा छनौट भएको चन्द्रा माविका प्रअ चौधरीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।