दुई प्रहरी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल लाइभ | २०७६ श्रावण २२ बुधबार | Wednesday, August 07, 2019 १९:०४:०० मा प्रकाशित

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थायी ट्राफिक प्रहरी पोस्ट कोसी कटान सुनसरीमा कार्यरत प्रहरी नायब निरीक्षक भिमबहादुर कटुवाल र प्रहरी जवान भरत कटुवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस लिएको आरोपमा   अख्तियारले बुधबार विशेष अदालतमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

काँकडभिट्टा–काठमाडौं चल्ने गाडी सञ्चालनमा सहजता गरिदिने भन्दै उनीहरूले सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारले उनीहरूमाथि अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा अख्तियारको टोलीले सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको थियो।

पक्राउ गरी थप अनुसन्धान गर्दा उनीहरूले सेवाग्राहीसँग घुस लिएका देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ  । अख्तियारले दायर गरेको मुद्दामा उनीहरूसँग जनही पाँच हजार रुपैयाँ बिगो र कैदको सजाय हुनुपर्ने दाबी गरिएको छ।