राजविराज– बुहारीको हत्या आरोपमा मंगलबार सप्तरीमा प्रहरीले सासुससुरालाई नै पक्राउ गरेको छ।
अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ का ५५ वर्षीय महेन्द्र यादव र उनकी पत्नी ४५ वर्षीया लीलादेवी यादवलाई प्रहरीले पक्राउ गरेको हो। दुवैलाई बुहारी १९ वर्षीया रञ्जुदेवीको हत्या गरेको आशंकामा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
गत साउन ५ गते रन्जुको अस्वभाविक मृत्यु भएको थियो। पति दिनेश घरमा नभएका बेला उनको मृत्यु भएको थियो। गम्भीर अवस्थामा फेला परेकी रन्जुलाई उपचारार्थ राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याउनुपूर्व नै उनको मृत्यु भएको थियो।
प्रहरीले समेत उनको मृत्युलाई शंकास्पद भनिरहेका बेला सासुससुरा दुवै जना पक्राउ परेका हुन्। उनीहरु विरुद्ध कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ।
घाँटीमा निलडाम र शरीरमा चोटपटक देखिएको भन्दै मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए। सोही उजुुरीका आधारमा महेन्द्र र लीलादेवीलाई पक्राउ गरिएको डिएसपी भावेश रिमालले जानकारी दिए।
मृतक तीन महिने गर्भवती र १० महिनाकी छोरीसमेत रहेको स्थानीयले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।