बैतडी– महाकाली राजमार्ग अन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको बांगाबगरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।
बैतडीको डिलाशैनी गाउँपालिका ६ मा पर्ने बांगाबगरमा मंगलबार बिहान पहिरो खसेको हो। बांगाबगरमा खसेको पहिरोका कारण सवारीसाधन आवतजावत पूर्ण रुपमा रोकिएका छन्।
सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन्। सडक पुनः सञ्चालनका लागि तयारी भएको भए पनि ठूलो वर्षा भएकाले तत्कालै पहिरो पन्छाउन समस्या भइरहेको बैतडी प्रहरीले बताएको छ।
१५ वर्षअगाडि आएको उक्त स्थानको पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा बर्सातको समयमा प्रत्येक वर्ष उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ। सुदूरपश्चिममा हिजो साँझदेखि लगातार वर्षा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।