जनकपुर- प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिँदै आएका अस्थायी शिक्षक र प्रदेश सरकारबीच सहमति भएको छ।
सहमतिपछि धर्ना स्थगित गरिएको अस्थायी शिक्षक आन्दोलन परिचालन समितिले जनाएको छ। प्रदेश सरकार र अस्थायी शिक्षकबीच सहमति भएपछि आन्दोलन स्थगित गरिएको र अब यसको स्वरुप परिवर्तन गरिने बताइएको छ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव र सामाजिक विकासमन्त्री नवलकिशोर साह धर्ना स्थलमा पुगेर सहमतिलाई पालना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको तथा अस्थायी शिक्षकहरुलाई धर्ना तोड्न आग्रह गरेपछि उनीहरुले सोमबार धर्ना स्थगित गरेका हुन्।
अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धर्मेन्द्रकुमार यादवले धर्ना स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गरिएको जानकारी दिए। सरकारले आफूहरुको समस्या समाधान गर्न वचन दिएकोले आन्दोलन स्थगित गरेको उनले बताए।
विगत ३२ दिनदेखि अस्थायी शिक्षक आन्दोलन परिचालन समितिले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि धर्ना दिँदै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।