नुवाकोट- नुवाकोटको ककनी गाउँपालिका-१ को वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा प्रहरीले यहाँको बेलकोटगढी नगरपालिका–५ का बच्चुराम लामिछानेलाई पक्राउ गरेको छ।
प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपामा आबद्ध रहेर उनीसहितका व्यक्तिले यही साउन १४ गते राति वडा कार्यालयमा बम विष्फोट गराएको अभियोगमा लामिछानेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए।
उनका अनुसार लामिछानेलाई शनिबार काठमाडौंको कीर्तिपुरस्थित उनले सञ्चालन गर्दै आएको स्टेसनरी पसलबाट नियन्त्रणमा लिएर अनुसन्धानका लागि नुवाकोट ल्याइएको हो। सोमबार जिल्ला अदालतमा उपस्थित गराइएका लामिछानेलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिइएको छ।
उनी हाल कीर्तिपुरमा व्यवसाय गर्दै आएकाले प्रतिबन्धित नेकपामा आबद्ध नभएकाले रिहा गर्न परिवारले आग्रह गरेका छन्। विप्लव नेकपाको खुला राजनीतिक गतिविधिको समयमा समर्थक भए पनि उक्त पार्टीको क्रियाकलापलाई सरकारले प्रतिबन्ध लगाएसँगै उनी व्यवसायतर्फ लागेकोले रिहा गरिदिन लामिछानेकी श्रीमती रश्मी ढुङ्गानाले माग गरिन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।