काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीसँग वार्षिक करार सम्झौता गरेका छन्। मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेत र सचिव ओलीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
मन्त्री बस्नेतले मुलुकको आवश्यकता र जनताको अपेक्षालाई परिणाममा व्यक्त हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए। ‘मुलुकको आवश्यकता र जनताको अपेक्षालाई परिणाममा देखिने गरी काम हुनुपर्छ’, मन्त्री बस्नेतले भन्नुभयो, ‘काम गर्दा हामी सबैले सुशासनलाई प्राथमिकतामा राख्नैपर्छ, अन्यथा सरकारले लक्ष्य पूरा हुन सक्दैन।’
जनतालाई वनमा आधारित उद्यमशीलतासँग जोड्ने लक्ष्य मन्त्रालयको रहेको उल्लेख गर्दै उनले भने, ‘वन उद्यमशीलता र आर्थिक उत्पादनको क्षेत्र हो भन्ने व्यवहारतः सावित गर्न सक्दा संरक्षणलाई थप टेवा पुग्छ। संरक्षणमा चुनौती आउँदैन।’ उहाँले जैविक विविधताको क्षेत्रमा नेपालले विश्वसामु शिर ठाडो पार्ने गरी काम गरेको समेत उल्लेख गरेका थिए।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालय हेर्ने राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले इतिहासमै पहिलोपटक सरकारले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेको र त्यसले मन्त्रीहरुलाई र कर्मचारीलाई आत्मअनुशासित बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटले निर्धारण गरेका योजनाहरुलाई कार्यसम्पादन सम्झौतामा समेटिएको जानकारी दिए।
सचिव ओली र सहसचिवहरुबीच सम्झौता
कार्यक्रममा सचिव ओली र १४ सह–सचिवहरुबीच पनि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भयो।
त्यस क्रममा सचिव ओली र वन तथा जलाधार महाशाखा प्रमुख कृष्णप्रसाद आचार्य, जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकाल, सहभागितामुलक वन व्यवस्थापन महाशाखा प्रमुख चन्द्रमान डंगोल, वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख यज्ञनाथ दाहाल, प्रशासन महाशाखा प्रमुख चक्रपाणि पाण्डे, वन विभागका महानिर्देशक डा. रामप्रसाद लम्साल, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक दीपक खराल र वनस्पति विभागका महानिर्देशक सञ्जिवकुमार राईबीच पनि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।