चितवन- चितवनमा सरकारी पहलमा इन्जिनियरिङ क्याम्पस स्थापना गरिएको छ।
त्रिभुवन विश्वविद्यालय र भरतपुर महानगरपालिको सहकार्यमा इन्जिनियरिङ अध्ययन संस्थानको आङ्गिक क्याम्पसको रुपमा रामपुरमा चितवन इन्जिनियरिङ क्याम्पस शुभारम्भ गरिएको हो।
आइतबार भरतपुर-१५, रामपुरको कभर्ड हललाई प्रशासकीय भवन बनाएर क्याम्पसको त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनिया र भरतपुरकी मेयर रेनु दाहालले क्याम्पसको शुभारम्भ गरे।
संसारभर नै उच्च शिक्षामा ३० प्रतिशत प्राविधिक शिक्षा दिनुपर्छ भन्ने मान्यताका साथ सो क्याम्पस स्थापना गरिएको डिन खनियाले बताए।
उनले मुलुकभर १२/१४ प्रतिशितको हाराहारीमा मात्रै प्राविधिक रहेकोले मुलुक समृद्ध बनाउन अझै प्रविधिक शिक्षा दिइने क्याम्पसहरु खोल्ने जनाए। 'स्थानीय सरकारसँग सहकार्य गरेर क्याम्पसहरु खोलिनेछ, यसले स्थानीय स्तरमा दक्ष प्राविधिक उत्पादनमा टेवा पुग्नेछ,' उनले भने।
भरतपुर महानगरकी मेगर रेनु् दाहाले स्थानीय सरकारको रुपमा भरतपुर महानगर जहिले पनि जनताको हितका आफूले गरेको वाचाअनुसार इन्जिनियरिङ क्याम्पसका लागि सहकार्य गरेर अगाडि बढेको स्पष्ट पारिन्। उनले जनताका हितको लागि जस्तोसुकै कदम चाल्न आफू पछि नहट्ने प्रतिवद्धता जनाइन्।
नेपालको नमूना इन्जिनियरिङ क्याम्पसको रुपमा झन्डै १९ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरी क्याम्पस शुभारम्भ गरिएको हो। क्याम्पसमा ७ वटा विधिमा पठनपाठन हुने इन्जिनियरिङ संस्थानका डिन रामचन्द्र सापकोटाले बताए। उनले त्रिविअनतर्गत भरतपुरमा इन्जिनियरिङ क्याम्पसको संख्या अब ५ वटा पुगेको जानकारी दिए।
यस वर्ष स्नातकतर्फ कम्प्युटर र सिभिलतर्फ गरी ९६ जनाको सिटका लागि भर्ना आह्वान गरिएको छ।
४० विघा क्षेत्रफलमा फैलिएको क्याम्पस सञ्चालनका लागि विश्वविद्यालय अनुदान आयोगबाट १ करोड रुपैयाँ प्राप्त भएको भरतपुर महानगरका सचिवालय प्रमुख गोपाल न्यौपानेले जानकारी दिए। (तस्बिर-राजेन्द्र आचार्य)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।