डडेल्धुरा- डडेल्धुराको अजयमेरु गाउँपालिकाका एक स्थानीय आफ्नो नाममा रहेको जग्गा वडा कार्यालयलाई दान गरेका छन्।
गाउँपालिकाको वडा नम्बर ४ बस्ने कमल सिह विष्टले १० आना १ पैसा २ दाम जग्गा वडा कार्यालयको नाममा नामसारी गरेका अजयमेरु गाउँपालिका-४ का वडाध्यक्ष टिका बहादुर बिष्टले जानकारी दिए।
विसं २०४९ सालबाट साविकको गाउँपञ्चायत, गाउँ विकास समिति हुँदै अहिले वडा कार्यालय सञ्चालनमा छ।
कार्यालय स्थापना गर्ने समयमा बुवा, बाजेले सरकारलाई दिने प्रतिवद्धता गरेअनुसार आफूले वडा कार्यालयलाई जग्गा प्रदान गरेको विष्टले बताए। जग्गा दान गर्ने विष्टलाई अमजयेरु गाउँपालिकाले दोसल्लासहित सम्मान गरेको छ। यसैगरी उनलाई सोमबार वडा कार्यालयले पनि सम्मान गर्ने जनाएको छ।
एक विशेष कार्यक्रमको अवसरमा उनलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्टले बताए। साविकको चिपुर गाविसमा अहिले कृषि, पशु हुलाक, स्वास्थ्य कार्यालय र सग्रांलय भवन, दलित भवन व्यक्तिगत नाममा नै रहेको गाउँपालिकाले जनाएको छ।
कार्यालय निमार्ण गर्ने सयममा सरकारलाई नै जग्गा दिने लिखित सहमति भए पनि सशस्त्र द्वन्द्वका समयमा कार्यालयका कागजपत्र नष्ट भएका कारण जग्गा नामसारीमा ढिलाइ भएको वडा कार्यालयले जनाएको छ।
अन्य विषयगत कार्यालयहरु रहेको जमिन पनि नामसरी गराउन अनुरोध गर्न एक समिति नै बनाएर वडा कार्यालय लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।