राजविराज- सप्तरीको बलान बिहुल गाउँपालिकामा रकमान्तर गरेर विकास निर्माणको काममा भ्रष्टाचार गरेको पाइएको छ। गाउँसभाले पारित गरेको आर्थिक वर्ष ०७४/७५ को योजनाको रकम अध्यक्षको तोक आदेशमा अन्य योजनामा खर्च गरिएको छ।
गाउँसभाले आव ०७४/७५ मा ‘टिकुलिया प्राविको बाउन्ड्री वाल (घेराबेरा)’ शीर्षकमा ५ लाख रुपैयाँ विनियोजन गरेको थियो। तर, आर्थिक वर्षको अन्तिम समयमा (असार १९ गते) योजना परिवर्तन गरी विद्यालयको प्रांगणमा माटो भर्ने काममा रकम खर्च गरिएको छ।
असार १९ गते योजना शाखामार्फत टिप्पणी उठाएर सोही मितिमा अध्यक्ष दयानन्द गोइतले योजना स्विकृत गरी कार्यादेश दिएका छन्। हरिलाल साहको अध्यक्षतामा गठित उपभोक्ता समितिले विद्यालयमा माटो भरेर कुल ५ लाख ३९ हजारको बिल भरपाई पेस गरेको छ।
प्राविधिक मूल्यांकन ४ लाख ८५ हजारमा ११ हजार ८ सय ३० रुपैयाँ आयकर कट्टी गरी गाउँपालिकाले असार २५ गते ४ लाख ७३ हजार १७० रुपैयाँ भुक्तानी गरेको छ।
.jpg)
ऐलानी जग्गाको माटो ल्याएर खरिदको भरपाई
उपभोक्ता समितिले पेस गरेको खर्च विवरणमा माटो खरिद ३ लाख ८८ हजार, ढुवानी ५० हजार र ज्यालामा १ लाख १ हजार खर्च देखाइएको छ। तर, उपभोक्ता समितिले माटो खरिद नै नगरेको र सो बापतको ३ लाख ८२ हजार १८० (करकट्टा गरी) भुक्तानी लिएको स्थानीयको आरोप छ।
गाउँमा खेतको माटो निकाल्दा बिक्री गर्ने प्रचनल नभएको र सोही शीर्षकमा गाउँपालिकाका कर्मचारी, पदाधिकारी र उपभोक्ता समितिको मिलेमतोमा अनियमितता गरिएको स्थानीय हरेराम साहले बताए। विद्यालय प्रांगणका लागि चकरघट्टीस्थित ऐलानी पोखरी तथा बेल्ही र बाबाजीगाछीस्थित निजी जग्गाबाट माटो ल्याइएको उनको भनाइ छ। 'माटो खरिदको पैसा पूर्ण रुपमा अनियमितता भएको छ। गाउँमा निजी खेतको माटो किनबेच गर्ने प्रचलनै छैन,’ साहले भने, ‘विद्यालयमा भरेको माटो पनि खरिद गरिएको होइन।’

उपभोक्ता समितिका अध्यक्ष हरिलाल साहले पनि विद्यालय प्रांगणमा भरेको माटो खरिद नगरिएको स्विकार गरे। तर, रकम अनियमितता नभएको उनको दाबी छ। ‘अन्य शीर्षकमा भएको खर्च माटो खरिदमा देखाइएको हो, अनियमितता भएको छैन,’ उनले जिकिर गरे।
गाउँपालिकाका प्रशासकिय अधिकृत महेशकुमार यादवले प्राविधिकको मूल्यांकनका आधारमा रकम भुक्तानी गरिएको बताए। ‘गाउँपालिकाले स्थलगत अनुगमन र प्राविधिकको प्रतिवेदनका आधारमा रकम भुक्तानी गरेको हो,’ उनले भने, ‘माटो भरेकै थियो, मूल्यांकन गर्दा जति देखियो, त्यति भुक्तानी भएको छ।’
गाउँपालिका अध्यक्ष गोइतले पनि माटो खरिद नभएको स्विकारेका छन्। रकमान्तर गरी बाउन्ड्री वालको काममा माटो भरिएको विषयमा भने गाउँसभाले दिएको अधिकार प्रयोग गरेको उनको दाबी छ।

०७४/७५ को गाउँसभको निर्णय नं १३ को (ड) ले आवश्यकता अनुसार अध्यक्षले योजना परिवर्तन गर्न सक्ने अधिकार दिएको र सोही अनुसार बाउन्ड्री वालभन्दा खाल्टो पुर्ने काम महत्वपूर्ण देखिएकाले रकमान्तर गरेर काम गरिएको उनले बताए।
महालेखाले पनि औंल्यायो गाउँपालिकाको त्रुटि
महालेखा परीक्षकको कार्यालयले पनि विद्यालय प्रांगणमा माटो भर्ने काम गाउँपालिकाले सार्वजनिक खरिद नियमावली विपरीत गरेको ठहर गरेको छ। नियमावलीविपरीत अर्कैको स्वामित्वमा रहेको जग्गामा माटो भरिएको महालेखाको ठहर छ।
'सार्वजनिक खरिद नियमावली २०६४ को नियम ६ (३) मा निर्माण स्थलको व्यवस्था नभई निर्माण अथवा खरिद कारबाही गर्न नहुने व्यवस्था छ,’ महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा भनिएको छ, ‘गाउँपालिकाको स्वामित्व कायमविना नै सार्वजनिक जग्गामा संरचना निर्माण गरेको पाइयो।’
प्रतिवेदन अनुसार गाउँपालिकाले सोही प्रकृतिका १९ वटा योजनामा २६ लाख २० हजार रकम खर्च गरेको छ।
कार्यालयमा अख्तियारको छापा
सदरमुकामवाट करिब ५० किलोमिटर पश्चिममा रहेको गाउँपालिकाका पदाधिकारी र कर्मचारीको मिलेमतोमा विकास निर्माणका काममा चरम अनियमितता भएको उजुरी परेपछि असारको दोस्रो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा छापा मारेको थियो।
तत्कालीन नेकपाका नेता अशोककुमार यादवले अनुगमन र छानबिन गर्न आयोगलाई आग्रह गरेका थिए। आयोगले शीर्षक अनुसार अनुसन्धान गरिरहेको छ।
उजुरीको आधारमा आयोगको इटहरीस्थित सम्पर्क कार्यालयका ७ सदस्यीय टोलीले अनुसन्धान थालेका छन्। गत असार ११ र १२ गते गाउँपालिका कार्यालय पुगेको टोलीले केही कागजपत्र समेत जफत गरी अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।