रोल्पा- जिल्लाको पर्यटकीय सूचना अद्यावधिक गर्न स्थापना गरिएको पर्यटन सूचना केन्द्र प्रयोगमा नआउँदै अलपत्र परेको छ। रोल्पा नगरपालिका ६ कोटगाउँ माडिचौरमा निर्माण गरिएको उक्त एकीकृत पर्यटन सूचना केन्द्र प्रयोगविहीन भई अलपत्र परेको हो।
जिल्लाको थवाङ, जलजला तथा बाग्लुङको ढोरपाटन पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिने उद्देश्यले उक्त सूचना केन्द्र स्थापना भएको हो। आर्थिक वर्ष २०६९/७० मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ८० लाखको लगानीमा निर्माण गरिएको उक्त केन्द्रको भवन हालसम्म पनि कुनै निकायले जिम्मा लिएका छैनन्। सरकारी निकायले रेखदेखको जिम्मा नलिँदा केन्द्र अलपत्र बनेको हो। भवन घेरिएको पर्खाल भत्किएको छ भने गेटसमेत तोडफोड गरिएको छ। भवनको चारैतिर घाँस उम्रिएको छ। भवन निर्माणमा प्रयोग गरिएको टिन र काठपात तथा अन्य संरचनासमेत बेवारिस अवस्थामा छन्।
भवन निर्माण गर्दा मन्त्रालयले जिल्लाका सरोकारवाला निकायलाई कुनै जानकारी नगराएको भन्दै तत्कालीन जिविस रोल्पाले जिम्मा लिएको थिएन। जिविससँग समन्वय तथा छलफलविना नै भवन निर्माण गरेको हुँदा उक्त भवनको जिम्मा आफूहरुले लिन नसक्ने तत्कालीन जिल्ला विकास समिति रोल्पाले बताएको थियो।
जिविसले सूचना केन्द्रबारे यसअघि पनि पटकपटक जिल्लास्थित राजनीतिक दल तथा सरोकारवाला निकायसँग छलफल गर्दा उक्त केन्द्रको जिम्मा नलिन सुझाव आएकोले जिम्मा नलिएको जिसस रोल्पाले बताएको छ।
पर्यटन सूचना केन्द्रका लागि उक्त स्थान अपायक पर्ने भन्दै नागरिकबाट समेत विरोध हुँदै आएको थियो। सदरमुकामबाट लामो दुरीमा पर्ने सो स्थानमा सूचनाकै लागि पर्यटक जाने सहजता नभएकाले पनि उक्त भवन अलपत्र बनेको बताइन्छ। थवाङ, जलजला र ढोरपाटनको पर्यटनकीय सूचनालाई लक्षित गरि सुलिचौरमा उक्त भवन निर्माण गरिएको भए प्रयोगमा आउन सम्भव रहेको जिल्लावासीको भनाइ छ।
जिल्लाका सरोकारवाला निकायको जानकारी विना राजनीतिक कार्यकर्ताले उक्त भवन निर्माण गरेको बताइन्छ। 'आपसी छलफल र अन्तरक्रिया विना राजनीतिक कार्यकर्ताले बनाएको भवन सरकारले हस्तान्तरण गरेर लिनुपर्छ भन्ने छैन,' नेपाली कांग्रेस रोल्पाका कोषाध्यक्ष खटकबहादुर खत्रीले भने, 'सूचना केन्द्र भवन अलपत्र परेसँगै सरकारको लगानी बालुवामा पानी हालेझैं भएको छ।'
जिल्ला पर्यटकीय दृष्टिकोणले अब्बल रहेका कारण सूचना केन्द्र जरुरी देखिन्छ। यसअघि निर्माण गरिएको सूचना केन्द्र प्रयोगविहीन भई अलपत्र अवस्थामा रहेका कारण अर्को सूचना केन्द्र सञ्चालन गर्नुपर्ने पर्यटनका जानकारहरुको भनाइ छ।
'राज्यको यति ठूलो लगानीमा निर्माण गरिएको संरचना बेवारिसे अवस्थामा हुनु राम्रो होइन,' पूर्वसांसद लेखनाथ आचार्यले भने, 'सरकारी लगानी रहेकाले पुनः मर्मत गरेर प्रयोग गर्न मिल्ने भए प्रयोग गर्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।