राजविराज- बाढी पीडितका लागि राहत तथा खोला नियन्त्रण र चुरे संरक्षणका लागि विशेष योजना सञ्चालन गर्न माग गर्दै नेकपा सप्तरीले बिहीबार प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ।
अध्यक्ष अशोक कुमार मण्डल, सचिव गोविन्द न्यौपाने लगायतका नेता/कार्यकर्ताहरुको टोलीले सप्तरीका सिडिओ सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणपत्र पठाएको हो। पत्रमा हरेक वर्ष सप्तरीमा डुबानको समस्या आउने गरे पनि बाढी लगायतका प्राकृतिक प्रकोप नियन्त्रणका लागि पूर्वतयारी र बाढीपश्चात् राहत वितरण कार्य प्रभावकारी नहुँदा सर्वसाधारणले दुःख पाउने गरेको उल्लेख छ।
प्राप्त राहतमा पनि पक्षपात र विभेद भइरहेकाले त्यसको अनुगमन र रोकथामका लागि पनि नेकपाले माग गरेको छ। असार अन्तिम साताको बाढीले सप्तरीमा १ जनाको मृत्यु, १ जना बेपत्ता र हजारौं घर डुबानमा पर्दा पनि उद्धार तथा राहतको विशेष योजना नबनेकाले त्यसतर्फ पनि ध्यान दिन आग्रह गरिएको छ।
बाढीले भत्काएका विभिन्न स्थानको बाँध र संरचना पुनर्निमाण गरी क्षतिग्रस्त, सडक, नहर, बिजुली खानेपानी सुचारु गर्न, प्रत्येक स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरी सक्रिय बनाउन, राहत उद्धारका लागि राजनीतिक दलसँग समन्वय र सहकार्य गर्नसमेत ध्यानाकर्षण गराइएको छ।
घरबार विहीनलाई अस्थायी आवास र खाद्यान्न लगायतको राहत सामग्रीसहित स्वास्थ्य सेवाको व्यवस्था गर्नुका साथै बेपत्ता भएकाहरुको खोजी कार्य जारी राख्न र मृतक परिवारलाई राहतस्वरुप रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई नेकपाले माग गरेको छ।
चुरे शृंखलाको अनियन्त्रित दोहन नरोकिएको र वर्षौं बितिसक्दा पनि खोला नियन्त्रण्को काम सम्पन्न नभएकाले चुरे क्षेत्र हुँदै बग्ने खाँडो, महुली, जिता, त्रियुगा, सिसवारी, खडक, चापिन, बलान, मुतनी, अमाहा, सुन्दरी, भलुवाही, चहका र सप्तकोसी नदीको बाढीले हरेक वर्ष सप्तरीमा धनजनको ठूलो क्षति गर्ने गरेकाले त्यसको नियन्त्रण योजनालाई उच्च प्राथमिकतामा राख्न ध्यानाकर्षण पत्रमा माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।