काठमाडौं– विभिन्न किसिमका विवादित केसहरु मिलाइदिन्छु भन्दै एसपी, सिडिओ र गृहमन्त्रीसम्म्को नाम लिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनस्थित सन्देश फाउन्डेसन नामको पुनर्स्थापना केन्द्रका सञ्चालक गौरबबाबु ढकाल हुन्। उनलाई चितवनको प्रहरी टोलीले गएराति काठमाडौंबाट पक्राउ गरेको हो।
ढकालले लेनदेन र विवादित अन्य केस मिलाउने भन्दै पैसा लिएर ठगी गर्ने गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको चितवनका एसपी दानबहादुर मल्लले नेपाल लाइभलाई जानकारी दिए। पछिल्लो समय उनले एक हार्डवयरको लेनदेन विवाद मिलाउन एसपी, सिडिओ र गृहमन्त्रीसम्म सेटिङ मिलाउनुपर्ने भन्दै २० लाख ठगेका थिए।
‘१० लाख ठगिसकेको पाइयो। अर्को १० लाखको चेक साउन अन्तिम साता साट्ने गरी लिइसकेको रहेछ,’ एसपी मल्ले भने, ‘अन्य ठाउँमा पनि ठगी गरेको भन्दै मौखिक उजुरी परेको छ। हामी अनुस्न्धान गर्दैछौं।’
पैसा लिएर काम नगरेपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए। त्यसपछि उनी फरार भएर काठमाडौं बस्दै आएका थिए। उनीमाथि ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।