काठमाडौं- भाडामा कोठा उपलब्ध गराई दिन माग गर्दै काठमाडौं महानगरपालिकामा उजुरी परेको छ।
काठमाडौं महानगरपालिकाको न्यायिक समितिले बुधबार पत्रकार सम्मेलन गरी भाडामा कोठा उपलब्ध गराई दिन माग गर्दै उजुरी परेको तथ्यांक सार्वजनिक गरेको हो।
त्यसैगरी घर भाडा भाग लगाई पाऊँ भनि एक वटा उजुरी परेको पनि काठमाडौं महानगरपालिकाकी कानुन अधिकृत हरिमाया घिमिरेले जानकारी दिइन्।
काठमाडौं महानगरपालिकाको न्यायिक समितिले मेयर विद्यासुन्दर शाक्यलाई बुझाएको गत आर्थिक वर्षको कार्य प्रगति विवरणमा जम्मा १ सय ९८ उजुरी दर्ता भएकोमा ६१ वटा फर्छ्यौट भएको र ९० वटा विचाराधीन अवस्था रहेको पनि उल्लेख गरिएको छ। ती उजुरीमध्ये सबैभन्दा बढी ५४ वटा उजुरी घर-कोठा खाली गराई पाउन माग गर्दै परेको पनि महानगरपालिकाकी कानुन अधिकृत घिमिरेले बताइन्।
न्यायिक समितिले सम्बन्ध विच्छेदका लागि सिफारिस गरी दिन पनि ३४ वटा उजुरी परेको जनाएको छ। त्यसमध्ये २० वटा फर्छ्यौट गरिएको पनि काठमाडौं महानगरपालिकाकी कानुन अधिकृत घिमिरेले जानकारी दिइन्।
उनका अनुसार सार्वजनिक बाटोमा निर्माण गरिएका घरटहरा हटाउन पनि उजुरी दिइएको छ। न्यायिक समितिले सार्वजनिक बाटो खुलाई पाउन पनि ४ वटा उजुरी परेको स्पष्ट पारेको छ। उपमेयर हरिप्रभा खड्गी संयोजक रहेको न्यायिक समितिले परेका उजुरीमाथि छानबिन गरी पीडितलाई न्याय दिने कामलाई तीव्रता दिइएको दाबी पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।