जनकपुर- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटीईभीटी) प्रदेश २ को कार्यालयमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ।
पूर्ण शूल्कीय र छात्रवृत्तिका लागि आवेदन फारम भर्ने समय एक हप्ता थप गर्नु पर्ने माग राख्दै नेविसंघले प्रदेश कार्यालय प्रमुखको कार्यकक्षमा बुधाबार तालाबन्दी गरेका हुन्।
नाराबाजी गर्दै जनकपुरको रामनानद चौकस्थित प्रदेश कार्यालय पुगेका विद्यार्थीले असार अन्तिम साता वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण प्रदेश २ का ८ जिल्ला प्रभावित भएको बेला यस क्षेत्रका थुप्रै विद्यार्थी आवेदन दिनबाट बञ्चित हुनु परेकोकाले थप समय माग गर्दै तालाबन्दी गरिएको नेविसंघ प्रदेश २ का संयोजक शशिन्द्र मोहन राजले बताएका छन्।
पूर्ण शुल्कीय र छात्रवृत्तिका लागि असार १८ र २० गते नै आवेदन आह्वान गरिएको र साउन १० र १२ गते समयसीमा समाप्त भएको छ। एक हप्ताको लागि बढाउन माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका हुन्।
उपनिर्देशक वसन्त यादवका अनुसार केन्द्रको नीति अनुसार नै आवेदन लिएको र समय बढाउने/नबढाउने केन्द्रकै हातमा रहेकाले आफूहरूले यस सम्बन्धमा निर्णय गर्न नसक्ने प्रतिक्रिया दिए।
नेविसंघ आबद्ध युवा नेताहरुले समय नबढाएसम्म ताला नखुल्ने चेतावनी दिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।